‘बाघी ३’का कारण एक साता पछि सर्‍यो ‘म यस्तो गीत गाउँछु २’

विराटनगर, २ फागुन । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति एक साता पछि सरेको छ ।

२३ फाल्गुनलाई प्रदर्शन मिति तय गरिएको चलचित्र अब भने ३० फाल्गुनबाट रिलिज हुने भएको छ ।

बिहीवार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा २३ फाल्गुनमा फिल्म ल्याउन खोजेको भए पनि वितरकका कारण एक हप्ता पछाडि सरेको फिल्मका निर्देशक सुदर्शन थापाले बताएका हुन् ।

तर, विदेशी फिल्मसँग एकसाथ प्रदर्शनमा आउने भएको कारणले हलवालाले सो नै नदिने हुँदा ‘म यस्तो गीत गाउँछु २’ लाई एक साता पछाडि सारेको देखिन्छ ।

२३ फाल्गुनमा बलिउड फिल्म ‘बाघी ३’ आउने निश्चित भएको कारणले ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति पोस्टपोन्ड हुने धेरैले अनुमान गरिसकेका थिए ।

आफू निर्देशित तथा निर्मित फिल्मसँग ‘बाघी ३’ भिड्ने भएपछि सुदर्शन थापाले कुनै हालतमा विदेशी फिल्मसँग डराएर प्रदर्शन मिति नसर्ने बताएका थिए ।

तर, ‘बाघी ३’ को डरले आफ्नो फिल्म नसर्ने घोषणा गरेको एक हप्तामा नै उनले ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति एक हप्ता पछाडि सारेका छन् ।

Loading...