२२औं बुढासुब्बा गोल्डकपको लाइभ कोशी अनलाइनमा

धरान, २ फागुन । २२औं बुढासुब्बा गोल्डकपको प्रत्यक्ष प्रसारण कोशी अनलाइनले गर्ने भएको छ ।

१० फागुनदेखि १७ फागुनसम्म धरान रंगशालामा सञ्चालन हुने गोल्डकपको प्रत्यक्ष प्रशारण कोशी अनलाइनले गर्ने भएको हो ।

अनलाइन ब्रोडकाष्टका लागि बुढासुब्बा गोल्डकप आयोजक संस्था धरान फुटबल क्लब र कोशी अनलाइन सञ्चालन गर्दै आएको रिपब्लिक हेराल्ड मिडियाबीच सम्झौता भएको छ ।

सम्झौतामा धरान फुटबल क्लबको तर्फबाट महासचिव प्रताप तामाङ र कोशी अनलाइनका लागि प्रशासन प्रमुख सुरज ढुंगानाले हस्ताक्षर गरेका छन् ।

कोशी अनलाइनले गत कात्तिक १६ देखि २५ कात्तिकसम्म झापामा सञ्चालन भएकाे प्रथम हाम्रो पूर्वाञ्चल गोल्डकपको प्रत्यक्ष प्रशारण गरेको थियो ।

नेपालमा अनलाइन सञ्चारमाध्यममा पहिलोपटक मल्टी क्यामेरा प्रयोगगरी पूर्वाञ्चल गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको कोशी अनलाइनले बुढासुब्बा गोल्डकपको प्रत्यक्ष प्रशारणमा पनि मल्टी क्यामेराको प्रयोग गर्नेछ ।

उद्घाटनदेखि फाइनलसम्मका खेलहरूको प्रत्यक्ष प्रसारण कोशी अनलाइनको फेसबुक पेज र कोशी अनलाइनकाे युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

‘२२ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप २०७६’ मा दुई विदेशीसहित आठ वटा टोली सहभागी छन् ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, मुख्यमन्त्री कप प्रदेश नम्बर १ लिग विजेता बेलबारी फुटबल क्लब, झापाको मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर, जापान फुटबल लिग टिम, युकेएफसी भारत र आयोजक धरान फुटबल क्लबले सहभागिता जनाउनेछन् ।

टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार पाउनेछन् । उपविजेताले टोलीले ५ लाख नगद पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार, सर्वाेकृष्ठ खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउने छन् ।

सर्वाधिक गोलकर्ताले ३५ हजार र म्यान अफ द म्याच खेलाडीले १५ हजार पुरस्कार पाउँनेछन् ।

भीएआरको प्रयोग

बुढासुब्बा गोल्डकपमा रसियामा सम्पन्न विश्वकपबाट सुरु भएको भिडियो असिस्टेन्स रेफ्री (भीएआर) प्रयोग हुनेछ ।

धरान फुटबल क्लबले नेपालमा पहिलो पटक भीएआरको प्रयोग गर्न लागेको हो ।

भीएआर विश्व प्रशिद्ध शैलीमा नभएपनि रेफ्रीलाई निर्णय लिन गाह्रो भएको अवस्थामा रेर्कडेड भिडियो हेरेर निर्णय लिन सक्नेछन् ।

गलत निर्णयले खेल प्रभावित नहोस भन्ने उद्देश्यले नेपालमा पहिलोपटक भिएआर प्रयोग गर्न लागिएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

Loading...