Rumpum Advertisement
Dazzu

यस कारण मनाइन्छ ‘भ्यालेन्टाइन्स डे’

यस कारण मनाइन्छ ‘भ्यालेन्टाइन्स डे’

विराटनगर, २ फागुन । १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे ।

आज विश्वभर उक्त डे मनाउनुका साथै नेपालमा पनि पछिल्ला केही वर्षयता विशेषगरी युवापुस्तामाझ प्रणय दिवस वा प्रेम दिवसका रूपमा लोकप्रिय हुँदै आएको छ ।

आजको दिन प्रेम सम्बन्धमा रहेका र रहन चाहनेका विशेष दिन मानिन्छ ।

आफूले माया गर्ने मान्छेलाई रातो गुलाफको फूल तथा उपहार दिएर प्रेमको प्रस्ताव राख्ने गरिन्छ ।

भ्यालेन्टाइन्स डे सेन्ट भ्यालेन्टाइनले को सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा मनाउने गरिएको अधिकांश मानिसहरूलाई थाहा भएकै कुरा हो ।

इटलीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको मान्यता छ ।

प्राचिन रोमनबाट सुरु भएको भ्यालेन्टाइन डेसँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।

भ्यालेन्टाइन डे को औपचारिक सुरुआत इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो ।

उहिलेको पालामा प्रेम तथा विवाहले सैनिकहरू कम्जोर हुने र राज्य सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाका कारण तानशाह र क्रुर प्रवृत्तिका रोमन सम्राट क्लोडियस द्धितियले सैनिकहरूलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

निर्दयिताका कारण नै उनलाई ‘क्लाउडियस द क्रुल’ को नामले पनि चिनिन्छ ।

तर, रोमनका पादरी सन्त भ्यालेन्टाइनले सम्राटको नियमलाई नमानेर प्रेमको पक्षमा आवाज उठाएर धेरै सैनिकहरूको सार्वजनिक रूपमा विवाह गराएका थिए ।

त्यसपछि, रिसका कारण सम्राटले भ्यालेन्टाइनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राख्न आदेश दिए ।

जेलमा रहँदा भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग प्रेम बस्यो ।

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर आफूलाई मृत्युदण्ड दिनुअघि लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र जेलरकी छोरीलाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।

उनलाई सन् २६९ को १४ फेब्रुअरीमा घाँटी रेटेर मृत्युदण्ड दिइएको थियो ।

यही दिनको सम्झनामा भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको २ सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रूपमा मनाउने घोषणा गरेका थिए ।

यससंगै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको रूपमा मनाउने गरिएको हो ।