हिरो महिला लिगको उपाधिका लागि सावित्राको टोली गोकुलम र क्रिप्सा भिड्दै

विराटनगर, २ फागुन । भारतीय हिरो महिला लिगको उपाधिका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी सम्मेलित टोली गोकुलम केरेलाले क्रिप्सा एफसीसँग खेल्दैछ ।

फाइनल खेल आज नेपाली समयअनुसार दिउँसो २ः१५ बजे बैंगलोरमा हुनेछ ।

यस खेलमा दुवै टोली ऐतिहासिक उपाधि जित्ने दाउमा हुनेछन् ।

यसअघि गोकुलम र क्रिप्सा दुवै क्लबले उपाधि हात पार्न सकेका छैनन् ।

यसअघि गोकुलमले सेमिफाइनलमा साविकको विजेता टोली सेथु क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाली टिमका मिडफिल्डर अनिता बस्नेत सम्मेलित टोली सेथुविरुद्ध गोकुलमले ३–० गोलको जित निकालेको थियो ।

यता, क्रिप्साले केन्क्री एफसीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यस सिजन सावित्रा गोकुलमका लागि मुख्य खेलाडी हुन् ।

सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी उनले १५ गोल गरेकी छन् ।

Loading...