स्मृतिमा दशवर्षे जनयुद्ध

गोपीबहादुर अछामी

१. जनयुद्धको थालनी : २०५१ सालको दशैं–तिहारपछि जनयुद्धको तयारीका लागि राजनीति जनचेतना विस्तार गर्ने उद्देश्यले सिन्धुली जिल्लामा पञ्चायती शासन व्यवस्थामा सिन्धुलीमा मारिनुभएका महान शहीदहरूको नाममा आदुरस (ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी, दलबहादुर रजनमगर) अभियान चलिरहेको थियो । म काठमाडौंबाट कलेज छुट्टीमा घर आएकोले पार्टीले चलाएको यो अभियानमा सामेल भएँ ।

सांस्कृतिक अभियानको समापनपछि गुरिल्ला तालिममा मलाई पनि सामेल गराउने निर्णय भएको रहेछ । तर मलाई खबर ढिला आएको र समय बितिसकेकोले यसमा सामेल हुने अवसरबाट म वञ्चित भएँ ।

साथीहरू जानुभयो, मचाहिँ अलि बेचैन जस्तो भएँ र काठमाडौं गएर पार्टी सम्पकमा पुगेँ । त्यहाँ पुगेपछि मेराबारे जानकारी गराएँ, जुनबेला मलाई संगठित गर्नुहुने ईश्वरीप्रसाद दाहाल र तत्कालीन पूर्वी ब्युरो इन्चार्ज यानप्रसाद गौतम (आलोक) सँग भेट भएपछि पुनः सिन्धुली जिल्लाका पार्टीका साथीहरूको सम्पर्क हुँदै सिन्धुली जाने निर्णयमा पुगेँ ।

यता सिन्धुली गढीमाथि २०५१ फाल्गुन १ गते हमला भयो । म यो कारवाहीमा जान पाइनँ । साथीहरू मीनकुमार दाहाल (शहीद) ले मेरो घरमा खबर पठाउनुभयो । म फागुन ३ गते साथीहरूको सम्पर्कमा पुगेँ जुनबेला टोली कमाण्डर गंगा श्रेष्ठ र सहकमाण्डर कमलप्रसाद देवकोटा लगायतका कमरेडहरू सँग भेट भयो ।

उहाँलाई सुरक्षित गर्नु, पोस्टर र पर्चा वितरण गर्नु, बारुद बनाउने सामानहरूको जोहो गर्नु, वर्गसंघर्षको प्रारम्भिक तयारीस्वरुप गाउँका जाली फटाहाहरूको बाली नस्ट गर्नु, उनीहरूको घर सेवोटेज गर्नु, दुस्मनको गतिविधिको निगरानी गर्नु आदि जिम्मेवारी लिएर म र बुद्धरत्न शाक्य सो काममा लाग्यौं ।

हामीले पोस्टर रातमाटा पुलिस चौकी हुँदै बजार र गाउँमा छर्ने काम गर्यौं । म आदुरस अभियानमा लागेकोले मलाई जनमोर्चा भनेर चिनिसकेका थिएँ र पुलिसले मेरो खोजी सुरु गर्यो । त्यसपछि म पूर्ण रूपमा भुमिगत भएँ र छापामार दलको ६ नम्बर सदस्य भएँ ।

मेरो कमाण्डर रञ्जन माझी (उहाँ घाइते हुनुहुन्छ) सहकमाण्डर टीका श्रेष्ठ (उहाँ जनयुद्धमा मारिनु भयो) हुनुहुन्थ्यो । यही बेला मैले सुतली बम बनाउन पड्काउन र भरुवा बन्दुक चलाउन सिकेको थिएँ । यो मेरो सुरुआती बेला थियो ।

२. नेतृत्वदायी भूमिकाको सुरुआतः २०५३ देखि म सिन्धुली जिल्ला पार्टी कमिटी सदस्य र छापामार दल कमाण्डरको जिम्मेवारीमा आएँ । मेरो कार्यक्षेत्र सिन्धुली सदरमुकाम पूर्वतिर भयो । नयाँ भुगोल, नयाँ जिम्मेवारी दुस्मनको इलाका भएकोले हाम्रो टिमको लागि यो जोखिमपूर्ण काम थियो । हामीले सानोसानो टोली बनायौं ।

जंगल र रातिको समयको अत्यधिक सदुपयोग गर्‍यौं । हामीसँग आदरणीय नेता चित्रनारायण श्रेष्ठ क. भास्कर हुनुहुन्थ्यो (उहाँलाई सर्लाहीबाट बेपत्ता पारियो, उहाँको अवस्था अहिले पनि अज्ञात नै छ) । उहाँले हामीलाई कमी सारिएटको भूमिका खेलिरहनुभएको थियो ।

पूर्वी अभियानमा हामीले भरुवा बन्दुक, बारबोर बन्दुक, तरबार, खुकुरी संङकलन गरी फौजलाई सुसज्जित गर्नु, फौजमा युवाहरूलाई भर्ती गर्नु, जाली तमसुक कब्जामा लिनु, गरिबहरूलाई ऋणमुक्त गर्नु, सामन्तहरूको अन्न भण्डारबाट अन्न कब्जा गरी किसानहरूलाई वितरण गर्नु लगायतका कामहरू गरिरहेका थियौँ, जसले किसानहरूको युद्धमा सहभागिता बढ्दै थियो ।

सामन्त, जाली, फटाहाहरू हाम्रो छापामार दस्तासँग आत्मसमर्पण गरिरहेका र कतिपय सामन्तहरू गाउँ छाडेर सहरतिर लागिरहेका थिए । हाम्रो घेरा फराकिलो बनिरहेको थियो । दुस्मनको घेरा खुम्चिँदै गएको थियो । म २०५५ कार्तिक १० गते रातमाटा पुलिस चौकी मिनिरेडको क्रममा घाइते भएँ । म उपचारमा काठमाण्डौं गएको बेलामा मेरो टोलीका साथीहरू पवन दाहाल, दीपक दाहाल, नवीन तामाङ, मेरै बहिनी निर्मला अछामी र शम्भु थापा २०५५ कार्तिक १७ गते पुलिस घेरामा परे र सबै मारिए । यसले ममा पीडा र आक्रोस दुवै थपियो । म उपचारपछि पुनः पार्टीको काममा जुटेँ । म अब बम विशेषज्ञको रूपमा काम गर्छु, पुनः बम र बारुदसँग खेल्छु भन्ने संकल्प गरिरहेको थिएँ । ममा बदला भाव पैदा भइरहेको थियो । तर पार्टीले म घाइते भएकोले छापामार दलबाट पार्टी संगठनको जिम्मेवारी दियो । म सिन्धुली जिल्ला सचिवालय सदस्य र पूर्वी एरिया सेक्रेटरी भएँ । मेरो जिम्मेवारी फेरियो ।

३. सिन्धुली छाडेपछि नयाँ अनुभूतिः जनयुद्ध, छापामार अवस्थाबाट चलायमान युद्धमा विकास भएको थियो । सिन्धुली जिल्ला पूर्वको वर्ग संङ्घर्षको केन्द्र भागमा थियो । दुस्मनको भीषण दमनले सयौं साथीहरूको बलिदान, गिरफ्तारी र पलायनले हाम्रो आत्मबल कमजोर हुँदै थियो । हामी बाँचेकाहरूले सिन्धुली जिल्लाको रक्षा गर्न, नजिकका जिल्लाहरूमा जनयुद्धको विस्तार गर्न जरुरी थियो । हाम्रो जिल्ला आधारकिल्ला हो, यसलाई जोगाउन हामीहरू सर्लाही, महोत्तरी, उदयपुर, र मकवानपुरतर्फ बढ्नु जरुरी थियो । म एकचरण उदयपुर, सर्लाही, महोत्तरीलगायतका जिल्लाहरूमा संगठन र संङ्घर्षको सिलसिलामा पुगेँ । २०५८ को पहिलो शान्तिवार्ता भङ्ग भयो र संकटकाल सुरु भयो ।

पहिलो संकटकालमा म मकवानपुर सेक्रेटरी भएर करिव ८ महिना काम गरेँ । त्यसबेला देसकै पहिलो सेनामाथि एम्बुस कारवाही सम्पन्न गरी दुस्मनको मुभमेन्ट कन्ट्रोल गरी जनसैन्य भर्तीलाई व्यवस्थित गरेका थियौं ।

२०५९ मा उदयपुरमा पार्टी विस्तार, सेना निर्माण र प्रतिरोध युद्धका अनुभूतिहरू असाध्यै स्मरणीय रहेका छन् । २०६१ मा जनसेना हुँदै लडाइँमा खेलेका भूमिकामध्ये भोजपुरको घोडेटार, सिरहाको बन्दिपुर र थुप्रैपटकका युद्धमोर्चाहरूबारे विस्तृत अनुभूति राख्न सकिन्छ । २०६३ मा मोरङ जिल्लाको फरक जिम्मेवारी लिएर काम गर्दासम्म म चेग्वेभाराको संघर्षपूर्ण जीवनबाट असाध्यै प्रभावित हुने गरेको छु ।

४. फरक जिम्मेवारीमाः म जनयुद्धमा लाग्दा देशको लागि बलिदान गर्ने, भियतनामी योद्धा न्युगेन भानत्रयको जीवनी, दिलभूषण पटनायकको धन्यवाद ग्यलड महोदय, चम्किलो रातो तारामा तुङचको रोल र आमा उपन्यास पढेर प्रभावित भएर उनीहरू जस्तै बनेर देशको लागि केही गर्छु, समाजको अग्रगामी परिवर्तनमा साकारात्मक भूमिका खेल्छु, यसका लागि आवश्यक परे जीवन बलिदान दिन पनि पछि पर्दिनँ भन्ने उद्देश्यले लागेको थिएँ ।

सांसद हुने मन्त्री हुने भन्ने कुरा हामी जनयुद्धमा लाग्नेहरूको समझबाहिरको कुरा थियो । जसै हामी जनगणतन्त्रबाट एक कदम पछाडि र सात राजनीति दल संवैधानिक राजतन्त्रबाट एक कदम अगाडि सरी संघीय लोकतान्त्रिक गणतन्त्रमा आयकोले हाम्रो बीचमा १२ बुँदे सहमति र संविधानसभामार्फत गणतन्त्रको कार्यान्वयनले यो अवसर मिल्यो । यो मेरा लागि फरक जिम्मेवारी र कामको नयाँ अनुभव बन्यो । जनयुद्धमा ज्यान जोखिम शान्तिपूर्ण युद्धमा इमान जोखिम, यो मोर्चाको मेरो सानो अनुभूति यही हो ।

५. हाम्रो उपलब्धि, सीमा र कमजोरीहरूः १० वर्षे जनयुद्धले, नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, यसको नेतृत्व र विचारलाई विश्वमा स्थापित गर्दै, वर्गीय उत्पीडनमा परेका किसान मजदूरमा बिद्रोहको चेतना जगायो । यो महत्त्वपूर्ण राजनीतिक जागरण हो । महिला, दलित, मुस्लिम, जनजातिहरूमा आफ्नो अधिकारका लागि लड्ने साहस पैदा गर्‍यो । राष्ट्रियताबारे जागरण पैदा ग¥यो । पुरानो सामन्ती व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो ।

समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, समावेसी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय जस्ता राजनीतिक मुद्दालाई स्थापित गर्‍यो । यो बन्दुक उत्पीडकले मात्रै होइन उत्पीडितले पनि उत्पीडकको विरुद्ध चलाउन सक्छ भन्ने मान्यतालाई स्थापित गर्‍यो । सेना नभएको जनतासँग आफ्नो भन्ने केही पनि हुँदैन ।

जनतालाई अधिकारसम्पन्न बनाउन जनताबाटै जनसेना निर्माण गर्नु, महिला, दलित, जनजाति, मधेशीलगायत सम्पूर्ण उत्पीडनमा परेका जनसमुदायको आफ्नै सेना हुनु अति नै महत्त्वपूर्ण ऐतिहासिक परिघटनाहरू हुन् । हामीले हाम्रो विगतप्रति गर्व गर्नैपर्दछ, इतिहासको सम्मान नगरी वर्तमानलाई न्याय गर्न सकिँदैन । यसका केही सीमा र कमीहरू छन् ।

हामीले बाँडेका सपनाहरूका चाङ धेरै थिए, यसलाई सम्पूर्ण रूपमा विपनामा रुपान्तरण गर्न नसकिएको यथार्थ छँदैछ ।

शहीद परिवार, वेपत्ता, घाइते योद्दाहरूका व्यवस्थापनसँग सम्बन्धित समस्याहरूको उचित व्यवस्थापनका आवाजहरू नाजायज छैनन् । जनयुद्धमा आधार क्षेत्रमा सहयोगी भूमिका खेलिरहेका जनसमुदायको भावनाको यथोचित सम्बोधन नभएको गुनासोहरू छन् । हामीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेपनि मुख्यतः समाजवादी गणतन्त्रको लक्ष्यमा पुग्न बाँकी नै छ, शायद हामी आगामी दशक समृद्धिको दशक बनाउन सफल भयौं भने बाँकी दशकहरूमा सम्पूर्ण सफलता चुम्ने सम्भावनाको नजिक छौं ।

लेखक : भर्खरै निर्वाचित राष्ट्रियसभाका सांसद तथा नेकपा केन्द्रीय सदस्य र मोरङ सह–इन्चार्ज हुन् ।

Loading...