काठमाडौं, २ माघ । देशभर निर्माणाधीन पुलमध्ये १ सय ८४ पुल समस्या देखिएको छ । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी छ ।
निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ ।
स्थानीय सडकमा १ सय २८, रणनीतिक सडकका ४३ पुलमा समस्या देखिएको छ ।
प्रक्रियागत तथा मौसमलगायतका कारण निर्माणमा ढिलाइ हुने गरेको सडक विभाग, पुल महाशाखाले जनाएको छ ।
निर्माणाधीन पुलमध्ये ९६ पुल निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ ।
तीमध्ये कतिपयलाई कारवाहीको प्रक्रिया शुरु भइसकेको त कतिको शुरु गर्ने चरणमा रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले बताए ।
निर्माण व्यवसायीले गलत मनसायले ढिलाइ गर्दा कारवाही हुने भए पनि अरु समस्याका कारण ढिलाइ हुँदा अवधि थप गरिएको उनले बताए ।
राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडक आयोजनाअन्तर्गतका पुलमा पनि समस्या देखिएको छ ।
हुलाकी राजमार्गमा ९ वटा पुलमा समस्या देखिएको छ । ६० सडक पुल निर्माणाधीन छन् ।
मध्यपहाडी लोकमार्गमा अहिले १५ पुल निर्माण अघि बढेको छ । ती मध्ये चार पुल निर्माण व्यवसायीका कारण अघि बढ्न सकिरहेको छैन ।
रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको छ ।
स्थानीय पुल ६४ र रणनीतिक पुल तीन वटाको डिजाइन सम्पन्न भइसकेको जनाइएको छ ।