पत्रपत्रिकामा देश : सरकारका दुई वर्ष, अर्थतन्त्रमा अलमल

विराटनगर, २ फागुन । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितेको छ ।

झण्डै दुई तिहाईको मत सहित बनेको सरकारप्रति जनताको अपेक्षा निक्कै भएपनि सरकारको गति सुस्त नै छ ।

अर्थमन्त्री युवराज खतिवडाले सरकार गठन भएलगत्तै पेश गरेको श्वेत पत्रमा नेपालको अर्थतन्त्र निक्कै चुनौतिपूर्ण देखिन्छ भन्ने उल्लेख गरेका थिए ।

तर अहिले पनि अवस्था उस्तै छ । निजी क्षेत्रमा आत्मविश्वासको कमी रहेको छ ।

बजार अझै सुस्त रहेको खबर कान्तिपुर दैनिकमा छ । सरकारको दुई वर्ष पुरा भएको समाचारलाई नै नागरिक दैनिकले मुख्य खबर बनाएको छ ।

सरकार पार्टी सम्बन्धमा उतारचढाव शीर्षकमा छापेको मुख्य खबरमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको उल्लेख छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलेर प्रशंसा गर्न सकेका छैनन् ।

सरकारमा सहभागी भएका बाहेक अन्य नेताले सरकारको आलोचना नै गरिरहेका छन् ।

दुई अध्यक्ष रहेका नेकपामा एकअर्कामा विश्वासको कमीले सम्बन्धमा उतारचढावको अवस्था रहेको थियो ।

पहिला सरकारले पार्टी चलाउने कि पार्टीले सरकार चलाउने भन्ने विषयमा द्वन्द्व भएपनि केन्द्रीय कमिटीको बैठकले पार्टीले सरकार चलाउने स्पष्ट पारेको नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पौडेलले बताए ।

संघीय सरकारमात्रै नभइ प्रदेश २ बाहेकका अन्य प्रदेशमा पनि नेकपाकै सरकार भएपनि जनअपेक्षा अनुसार सरकारको गति नभएको समाचार पनि नागरिक दैनिकमा छ ।

निर्बाध आउँछन् चिनियाँ शीर्षकमा अन्नपूर्ण पोष्टले मुख्यपृष्ठमा खबर छापेको छ ।

चीनको वुहान सहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि जोखिममा रहेका नेपालीलाई फर्काउन आनाकानी गरिरहेको सरकारले चिनियाँ पर्यटकलाई भने निर्वाध आउन दिइरहेको छ ।

अस्टेलिया, अमेरिका, क्यानडा लगायतका मुलुकले भने चिनबाट सिधै जाने यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।

कतिपयले चीनमा निर्मित सामान आयातमा रोक नै लगाएका छन् ।

चीनले पनि वुहानका नागरिकलाई अन्य सहर जान प्रतिबन्ध लगाएको छ ।

तर चिनियाँ पर्यटक निर्वाध नेपाल आउने गरेका छन् ।

चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम भने नरोकिएको हो ।

पिपुल्स हेल्थ मुभमेन्टका संयोजक एवं जनस्वास्थ्यविद् डा. शरद वन्तले चीनबाट आउने पर्यटकको स्वास्थ्य जाँच गर्नु पर्ने बताए ।

Loading...