रोनाल्डो युभेन्टसमै रहने

एजन्सी, २ फागुन । युभेन्टसका प्रमुख फुटबल अफिसर फाबियो पाराटिकीले आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो क्लबमै रहने प्रष्ट पारेका छन् ।

कोपा इटालियाअन्तर्गत एसी मिलानविरुद्धको खेलअगाडि पत्रकारसँग बोल्दै पाराटिकीले यस्तो बताएका हुन् ।

पछिल्लो समय ३५ वर्षीय रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किने हल्ला चलिरहेको थियो ।

तर, यसै हल्लाका बीच इटालियन पूर्वफुटबलर पाराटिकीलाई रोनाल्डो कतै नजाने प्रष्ट पारे ।

रोनाल्डोको बहिर्गमनबारे सोधिएको प्रश्नको जवाफमा पाराटिकीले रोनाल्डो युभेन्टस छाडेर कतै नजाने बताए ।

‘यसमा कुनै शंका नै छैन कि रोनाल्डो यहाँबाट अन्त कतै जाँदैनन्,’ उनले भने ।

कोपा इटालियाअन्तर्गत सर्वाधिक १३ पटको च्याम्पियन क्लब युभेन्टस एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टसलाई हारबाट जोगाउन रोनाल्डोले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६१औं मिनेटमा मिलानका एन्टे रेबिकले गोल गर्दै युभेन्टसविरुद्ध अग्रता बनाएका थिए ।

यस्तै खलको ७१औं मिनेटमा घरेलु टोली मिलान १० खेलाडीमा सीमित बनेको थियो । उसका खेलाडी थियो हर्नान्डेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । जसमा, रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।

Loading...