विराटनगर,१ फागुन । एक नम्बर प्रदेश सांसदहरुले आफुहरुलाई गाडी सुबिधा दिन माग गरेका छन् ।
एक नम्बर प्रदेश सभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै प्रदेश सांसद काजीमान कागतेले प्रदेश सांसदहरु सबैलाई गाडी सुबिधा माग गरे ।
शुन्य समयमा बोल्दै सांसद कागतेले प्रदेशका ९३ सांसद मध्ये २२ जना मन्त्री, राज्य मन्त्री र बिषयत समितिको पदाधिारी, दलको नेता, मुख्य सचेतक बनेर सरकारको तर्फबाट चालक सहित गाडी सुबिधा प्रयोग गरिरहेकोले बाँकी सांसदहरुलाई पनि गाडी सुबिधा दिन माग गरे ।
सांसद कागतेले घुमाउरो पारामा संसदमा आफुहरुलाई महंगो हैन बढीमा २० लाख रुपैयाँ सम्मकोे गाडी सुबिधा दिन माग गर्दै भने,— ‘हामी प्रदेश सरकालाई दिनैपर्छ भनेर भन्दैनौं तर बढीम २० लाख रुपैया सम्मको गाडी खरिदमा भन्सार छुट दिइयोस ।’
एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७ कांग्रेसको २१ संघीय समाजवादीका ३ राप्रपाका १ र लोकतान्त्रिक मञ्चको १ सांसद छन् ।
ती मध्ये सत्ताधारीबाट १ सभामुख १ उपसभामुख १ मुख्यमन्त्री, ४ विभागीय मन्त्री र ४ राज्यमन्त्री, दलको उपनेता र प्रमुख सचेतक अनि प्रतिपक्षी दलको नेता, प्रमुख सचेतक र सातवटा बिषयत समितिका सभापतिहरुले चालकसहित गाडी सुबिधा प्राप्त गरेका छन् ।
जनयुद्धका शहीद घोषणा गर्न र घाइतेलाई निशुल्क उपचार गर्न माग
शुन्य समयमा बोल्दै सांसद मोहनकुमार खड्काले संघीयता र गणतन्त्र जनयुद्धको उपलब्धि भएकोले बलिदान दिएकाहरुलाई शहीद घोषणा गरिनुपर्ने र घाइते र अपांङ्ग योद्धाहरुको निशुल्क उपचार गरिनुपर्ने माग गरे ।
सांसद खड्काले भने, — ‘संघियताको फल खान थालेपछि अब जनयुद्धलाई आत्मसाथ गर्न हिच्किचाउनुपर्ने कुनै कारण छैन ।’
हिउँदे अधिवेशनमै प्रदेशको नामाकरण टुंगो लगाउन माग
सांसद प्रकाशप्रताप हाङगामले दुई बर्ष बितिसक्दा पनि प्रदेशको नामाकरण हुन नसकेको भन्दै चालु हिउँदे अधिवेशनमै नामकरण टुंगो लगाउन लागिपर्न प्रदेशसभालाई आग्रह गरे ।
सांसद हिमाल कार्कीले पनि हिउँदे अधिवेशनमै प्रदेशको नामाकरणको प्रस्ताव टुंगो लगाउनेगरी निर्देशन गर्न नेकपाका शीर्ष नेताहरुलाई आग्रह गरे ।
उनले नामाकरण टुंगो लागाउने अधिकार प्रदेशसभाको भएपनि दुई तिहाईको सत्ता चलाएको दल नेकपाले सबैतिर अधिकारमा हस्तक्षेप गरेकोले अब एक नम्बर प्रदेश सभामा पनि हस्तक्षेप गरेर चाँडो नामको प्रस्ताव दर्ता गराएर नामाकरण टुंगो लगाउनुपर्ने बताए ।
सिक्सलेन सडकको भ्रष्टाचार छानविन गर्न माग
सांसद साबित्रीकुमारी रेग्मीले कोशी राजमार्ग अन्तर्गतको रानी धरान सिक्सलेन सडकको निर्माण ठेकेदारहरुले अधुरै छाडेकोले उनीहरुलाई भ्रष्टाचार ऐन अन्तर्गत कारवाही गर्न माग गरिन् ।
सांसद राजकुमार ओझाले विराटचौक घिनाघाट सडकको निर्माणमा रुख र बिजुलीका पोल बाधा बनिरहेकोले चाँडो हटाउने व्यावस्था मिलाउन माग गरे ।
प्रदेश चिया कफी बोर्ड गठन गर्न माग
बिहीबारको बैठकको शुन्य समयमा बोल्दै इलामका सांसद काजीमान कागतले प्रदेश चिया कफी बोर्ड गठन गर्न माग गरे ।
उनका अनुसार देशमा उत्पादन हुने चिया मध्ये ९८ प्रतिशत २ करोड ५० लाख केजी एक नम्बर प्रदेशमा उत्पादन हुने गरेको छ ।
जसले बर्षेनी ४ अर्ब बढीको कारोबार गर्ने गरेको छ । प्रदेशका १४ मध्ये १० जिल्लामा चियाखेतीका लागि उर्वर संभावना रहेको छ । तर चिया कफी बोर्ड प्रदेश अन्तर्गत नहुँदा चिया कफी खेती फस्टाउन सकेको छैन ।
सरकारले संघीयता बिरोधी कार्य गरेको आरोप

शुन्य समयमा बोल्दै मुख्य प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले योजना आयोगका अध्यक्ष र लगानी बोर्डका कार्यकारी निर्देशकमा अर्को प्रदेशका नागरिक नियुक्त गरेर सरकारले संघीयता बिरोधी चरित्र देखाएको आरोप लगाए ।
अझै पनि प्रदेश सरकारको दुई मन्त्रालयमा विभागीय मन्त्री नियुक्त नगरेकोबारे व्यंङग गर्दै सांसद कार्कीले भने,— ‘के एक नम्बर प्रदेशमा मन्त्री बन्न र अयोग तथा बोर्डमा पदाधिकारी बन्न योेग्य कोही पनि सांसद र व्यक्ति रहेनछन् र अर्को प्रदेशबाट ल्याएर नियुक्त्त गरियो ?’