नजन्मँदै देखिको कस्तो यो रेडियो मोह ?

लिलाराज भट्टरा

ब्यथा बिहीवार बेलुकैदेखि लागेको । आमा प्रसव पीडामा हुनुहुन्थ्यो । शुक्रबार बिहान पाँच बज्न लाग्दा पनि बच्चा नजन्मिएपछि हजुर आमाले भन्नुभएछ– लु लु जन्मिहाल, पक्कै नातीनै जन्मन्छस्, एउटा रेडियो दिउँला ।

संयोगै होला हजुरआमाले रेडियो दिन्छु भनेको केहीबेरमा च्याहाँ च्याहाँ गर्दै बच्चा जन्मियो । म जन्मेको केही वर्षमै बुबाले एउटा नेशनल पानासोनिक रेडियो किनेर ल्याउनुभयो । त्यो रेडियो अझै पनि छ हाम्रो घरमा । त्यो रेडियोको लाइसेन्स पनि थियो । घरमा बन्दुक राख्दा बर्सेनि नवीकरण गरेझैँ त्योबेला रेडियोको पनि नवीकरण गर्नुपर्थ्यो रे । अझै त्यो लाइसेन्स बुबाले सुरक्षित राख्नुभएको छ । बिहान पाँच नबज्दै बुबा उठिसक्नुहुन्थ्यो । रेडियो खोलेर बाहिर वरण्डामा झुण्ड्याउनुहुन्थ्यो । अनि गुन्जन्थ्यो रेडियो नेपालबाट शंख ध्वनी ।

त्यो बेला हाम्रो गाँउका केही सीमित ब्यक्तिहरूको घरमा मात्र थियो रेडियो । हाम्रो घरमा दिनभर रेडियो बज्थ्यो । स्कुल नजाउन्जेलसम्म म रेडियो सुनेरै बस्थे । स्कुलबाट फर्केपछि पनि प्रायः रेडियो सुन्न छुट्दैनथ्यो । त्यसैले स्कुलमा सरहरूले पनि नयाँ कुरा केही छ कि भनेर मलाई सोधिरहनुहुन्थ्यो । उहाँहरूलाई बताउनैका लागि पनि मैले रेडियो नेपालको समाचार नियमित सुन्ने गर्थे । त्यसो त त्यो बेला मलाई अपरान्ह पाँच बजेपछि बज्ने बाल कार्यक्रम असाध्यै मन पर्थ्यो । राति बज्ने गीतसँगीतको कार्यक्रम चौतारी सुन्न कहिल्यै नछुटाउने ।

बुबा समाचार, घटना र विचार, बीबीसी नछुटाई सुन्नुहुन्थ्यो । उहाँले सुन्दा म बुबाको काखमा बसेर रेडियो सुन्थे । नियमित रेडियो सुन्ने भएकाले पनि होला म जिल्लामा हुने हाजिरी जवाफ प्रतियोगितामा प्रायः छानिन्थेँ । जितेरै आउथेँ । वक्तृत्वकला प्रतियोगितामा पनि प्रायः मलाई हराउन गाहै पर्थ्यो । रेडियोको मोह निक्कै गाढा थियो । अहिले सम्झँदा आफैंलाई छक्क लाग्छ । बजेट भाषण हुन्थ्यो असारका बेला । असारमा बाउसे काम गर्दा पनि काँधमा रेडियो झुण्डाएर बजेट भाषण सुन्दै काम गर्दै गरिन्थ्यो ।

म नौ कक्षा पुगुन्जेलसम्म पनि तोते बोली बोल्थेँ । केटाकेटीले तोते बोलेको ठूलालाई मन परेरै होला मलाई बोल्न लगाइरहन्थे, जिस्क्याइरहन्थे । त्यति बेला आठ कक्षामा पढ्ने हुदोहुँ । एक दिन स्कुल जाँदै गर्दा अर्कै प्रशंग चलिरहेको थियो मैले फ्याटटै भनेछु भविश्यमा म रेडियोमा समाचार भन्नेछु । साथीहरूले मलाई जिस्क्याउनु जिस्क्याए । यस्तो तोते बोल्नेले रेडियोमा समाचार भन्ने ? हो पनि तोते बोल्नेले कसरी समाचार भन्छ त रेडियोमा ।

तर अहिले त्यही तोते बोल्ने विद्यार्थी करिब १८ वर्षदेखि रेडियोमा सक्रिय छ । एसएलसी परीक्षा सकेर गाँउ नफकर्दै घरमा दुई वटा पत्र आएका थिए । एउटा मैले पढेको प्राथमिक विद्यालय त्यो बेलाको जनकल्याण प्राबिवाट र अर्को त्यो विद्यालयबाट पास भएर पढेको माध्यमिक विद्यालय त्यो बेलाको मैवाखोला माविबाट । दुवै पत्रमा एसएलसीको रिजल्ट नआउन्जेल केही महिना भएपनि स्कुलमा पढाइदिनुपर्ने त्योवापत केही खर्च दिने भन्ने आशय पत्रमा थिए ।

सधैँ कक्षामा प्रथम हुने विद्यार्थी भएको नाताले होला दुवै विद्यालयले एसएलसीको परिणामपछि पनि अध्ययन गराओस् भन्ने आशय राखेका रहेछन्, पछि मात्र थाहा पाएँ । गाँउमै बाह्र कक्षासम्म पढ्दै स्कुल पनि पढाओस् भन्ने कुरा रहेछ । मैले केही महिना जनकल्याण प्राविमा पढाएँ । एसएलसीको रिजल्ट पछाडि हान्निएँ मोरङको उर्लाबारीतर्फ । त्यहाँ मेजर विषय अंग्रेजी र अर्थशास्त्र लिएर पढ्न थाले । प्रविणता प्रमाणपत्र तह प्रथम वर्ष उर्लाबारी क्याम्पसबाट गरेँ । त्यो वर्ष जम्मा चार जना विद्यार्थी उर्तीण भएका थियौँ त्यसमा म पनि एकजना थिएँ ।

स्नातक तह पढ्न थाल्दानथाल्दै एक दिन इटहरी आएको थिएँ । सप्तकोशी एफएम भर्खरभर्खर सुरु भएको थियो । त्यो बेलाका सप्तकोशी एफएमका सम्पादक अग्रज पत्रकार याम प्रधानले सप्तकोशी एफएमका लागि उर्लाबारीदेखि सम्वादाता भएर काम गर भन्नुभयो । मैले समाचार पठाउन थालेँ । समाचार पठाउन थालेको एक वर्ष पनि भएको थिएन २०५९ माघ १८ गते देखि २३ गतेसम्म जनकपुरमा भएको नेकपा एमालेको सातौँ महाधिवेशनमा रिपोर्टिड गर्ने अवसर मिल्यो । त्यो बेला सप्तकोशी एफएमबाट जयराम गौतम र मैले सप्तकोशी एफएममा मात्र होइन चितवनको सिनर्जी र पोखराको माछापुछ्रे एफएममा पनि रिपोर्टिड गर्‍यौं । रिपोर्टिड निक्कै राम्रो भयो रे । फर्कने बित्तिकै त्यो बेलाका सप्तकोशी एफएमका समाचार प्रमुख अर्जुन उपे्रतीले मलाई डेक्समै आएर काम गर्न प्रस्ताव गर्नुभयो । मैले पढाई चलिरहेको र पढाई राम्रै भएकाले अहिले जागिर नखाने भनेर उहाँको प्रस्ताव स्वीकार गरिनँ । तर उहाँले पटकपटक कर करेपछि घर परिवारमा सल्लाह गरेँ । मेरा काकाहरू जो, छापा पत्रकारितामा हुनुहुन्थ्यो, उहाँहरुले रेडियोमा अवसर पनि हो आएको अवसरलाई गुम्न नदे भन्ने सल्लाह दिनुभयो ।

हुन पनि त्यो वेलामा धेरै रेडियो थिएनन् । रेडियोमा बोल्ने भनेपछि निक्कै क्रेज थियो, सम्मान पनि । म डेक्समै आएर काम गर्न राजी भए । सप्तकोशी एफएममा काम गर्न थालेको यतिका वर्ष भयो रेडियो पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएको छु । त्यो बेला पूर्वमा सप्तकोशी, कोशी र कञ्चनजंघा एफएम मात्र थिए । अहिले त पूर्वका पनि प्रत्येक शहरमा कम्तिमा दुई वटा रेडियो छन् । रेडियो खोल्ने लहड र रहर उत्तिकै बढ्यो । एक समय गाँउ गाँउमा रेडियो खोलिए । अहिले देशभरमा साढे पाँच सय रेडियो घन्किन्छन् । ६ सय ५२ बढी रेडियोले प्रसारणको अनुमति लिइसकेका छन् ।

नेपालमा २००३ सालसम्म त सर्वसाधारणले रेडियो सेट राख्न पाउने अनुमति पनि थिएन । २००३ सालमा पदमशमशेरले सर्वसाधारणलाई लाइसेन्स लिएर रेडियो राख्ने अनुमति दिएका हुन् । नेपालमा औपचारिक रूपमा २००७ साल चैत २० गतेदेखि दैनिक चार घण्टा रेडियो नेपालबाट रेडियो प्रसारण सुरु भएको थियो । तर यसअघिनै राणाविरोधी जनक्रान्तिका क्रममा सुरुमा भोजपुर जिल्लाबाट र पछि विराटनगर जुटमिलको एउटा कोठाबाट रेडियो प्रसारण सुरु गरिएको थियो । २०४६ सालको परिवर्तनको तीन वर्षपछि राष्ट्रिय प्रशारण ऐन २०४९ बनेपछि मात्र नेपालमा निजी क्षेत्रलाई रेडियो सञ्चालनको ढोका खुल्यो । राष्ट्रिय प्रशारण नियमावली २०५२ बनेपछि २०५४ जेठ ९ मा रेडियो सगरमाथाले प्रशारण सुरु गर्‍यो । जुन दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो हो ।

नेपालको परिवर्तनको आन्दोलनमा शहर बजारदेखि गाउँगाउँसम्म खुलेका रेडियोहरूको खुलेर प्रशंशा हुने गरेको छ । भौगोलिक विकटतालाई चिर्ने काम रेडियोहरूलेनै गरेका छन् । जनताको सर्वसुलभ पहुँचमा रहेको सञ्चारको महत्वपूर्ण माध्यम बनेका छन् नेपालका एफएम रेडियोहरू । काम गर्दा गर्दै पनि सुन्न सकिने भएकाले जनताको प्रिय माध्यम बनेका छन् । विद्युतीय सेवा नपुगेका र निरक्षर ब्यक्तिहरूको लागि त निर्विकल्पनै बनेका छन् । सूचना, संगीत, मनोरञ्जन, उत्प्रेरणा र अभिप्रेरणा बस्तिबस्तिसम्म पुर्‍याउन रेडियोहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । हाम्रो जस्तो भौगोलिक विषमता र विकटता रहेको देशमा अझै कैयौँ वर्षसम्म रेडियोनै प्रभावकारी सञ्चारको साधन रहने छ ।

विश्वभरि आज नवौं रेडियो दिवस मनाइँदैछ । संयुक्त राष्टसंघको आहवानमा सन् २०१२ देखि हरेक वर्ष फेवु्रअरी १३ का दिन रेडियो दिवस मनाउने गरिएको हो । यो बेला भन्नैपर्छ छ्यापछ्याप्ती खुलेका एफएम रेडियोको मुख्य चुनौती भनेको पहिचान र अस्तित्वको संकट हो । अघिकांश रेडियोहरू अध्ययन अनुसन्धाननै नगरी खुलेका छन् । त्यसैले चलिरहेका अन्य रेडियोभन्दा फरक बन्न सकेका छैनन् । त्यसैले होला आफ्नो आवश्यकता पुष्टि गर्न समस्या भएको । धेरै रेडियोहरूलाई कर्मचारीको तलब र दैनिक सञ्चालन खर्च धान्न पनि मुस्किल परिरहेको अवस्था छ । केही त यही कारणले बन्द पनि भइसके । समग्रमा एफएम रेडियोहरू व्यवसायिक बन्न सकेका छैनन् ।

वरिष्ठ रेडियो पत्रकार गोपाल गुरागाईंले दशकअघिनै एउटा लेख लेख्नुभएको थियो । मार्टिन चौतारीले प्रकाशन गर्ने पुस्तक स्वतन्त्र रेडियोको एक दशकका लागि । उहाँले स्वतन्त्र रेडियोको दश वर्ष चौवाटोमा अलमल शीर्षकको लेखको मैझारोमा लेख्नुभएको शब्दहरू जस्ताको तस्तै प्रस्तुत गर्दै मेरो लेखको पनि बिट मार्छु । उहाँले लेख्नुभएको छ, आफ्नो पेशा ब्यवसाय र कामलाई रेडियोकर्मीले इमानका साथ आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । अब पनि यसो गरिएन भने नेपालका स्वतन्त्र रेडियोहरू भट्टीपसल र रक्सी उद्योगभन्दा पनि तल्लो कोटीमा गनिन थाल्ने छन् । इमान र नैतिक ब्यवसायमा लागेका र लाउनेहरू आफैँ अनैतिक र वेइमान भइरहने हो भने यो व्यवसाय छलछाम, ढाँट र छलछाम ब्यवसायमा फेरिन अब धेरै समय लाग्दैन ।

Loading...