नेयमारले डर्टमुण्डविरुद्धको खेल गुमाउने सम्भावना

एजेन्सी, १ फागुन । ब्राजिलियन स्टार नेयमारले जर्मन क्लब बोरुसिया डर्टमुण्डविरुद्धको खेल गुमाउने सम्भावना बढेको छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक थोमस टुचेलका अनुसार नेयमारले डर्टमुण्डविरुद्धको खेल खेल्नेमा शंका उत्पन्न भएको बताएका छन् ।

पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब डर्टमुण्डको सामना गर्दैछ ।

जसको पहिलो लेगको खेल नेयमारले गुमाउन सक्ने टुचेलको भनाइ छ ।

पीएसजीले आफ्ना स्टार नेयमारविना फ्रेन्च कपको क्वार्टरफाइनल खेल खेलेको थियो ।

जसमा डिजोन एफसीओविरुद्ध ६–१ गोलान्तरको फराकिलो जित निकाल्दै पीएसजीले सेमिफाइनलमा स्थान बनाएको छ ।

बुधबार राति भएको क्वार्टरफाइनल खेलमा फराकिलो जित निकाल्दा नेयमार अनुपस्थित थिए ।

नेयमार हाल पेरिसमा रहेर चोटबाट मुक्त हुने प्रयासमा छन् ।

उनी १ फेब्रुअरीमा मोन्टेपिल्लरविरुद्धको खेलमा घाइते भएका थिए । त्यसपछि उनले नान्टेस र लियोनविरुद्धको खेल गुमाएका थिए ।

बुधबार डिजोनविरुद्धको खेलपछि पत्रकारसँगको बोल्दै टुचेलले भने, ‘म शतप्रतिशत रूपमा भन्न सक्दिनँ कि नेयमार बोरुसिया डर्टमुण्डविरुद्धको खेलमा हुनेछन् भनेर । यसका बारेमा हामी शुक्रबार निर्णय लिनेछौं । उनको अवस्था र च्याम्पियन्स लिग खेल्नेबारे जानकारी शुक्रबार दिनेछौं ।’

Loading...