यात्रुबसमा ‘टाइम कार्ड’ प्रभावकारी

विराटनगर, १ फागुन । एक नम्बर प्रदेशमा कुद्ने छोटा दूरीका सार्वजनिक सवारीसाधनलाई टाइम कार्ड प्रभावकारी बनेको छ । दुर्घटना न्यूनिकरणका लागि टिपरपछि सार्वजनिक बसलाई टाइम कार्ड लागू गरिएको हो ।

झापा, मोरङ र सुनसरीका राजमार्ग अस्वस्थ्य प्रतिस्पर्धा रोक्न र दुर्घटना न्यूनीकरणका लागि लागू गरिएको टाइम कार्डले राजमार्गमा हुने अस्वस्थ्य प्रतिस्पर्धालाई कम गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहाल बताउँछन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी व्यारेजसम्म र कोशी राजमार्गअन्तर्गत विराटनगरदेखि धरानसम्म गुड्ने सार्वजनिक यात्रुबहाक सवारी साधनले यो नियम मान्नुपर्ने छ ।

प्रदेश १ मा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा भएका ७ सय ३२ वटा दुर्घटनामा एक सय ८० जनाको मृत्यु भएको छ । त्यसमध्ये एक सय १४ जनाको मृत्यु राजमार्गमा भएको दुर्घटनाबाट भएको थियो ।

बढ्दो दुर्घटना, सवारी साधनको तीव्र गति र राजमार्गको अस्तव्यस्ततालाई नियमन गर्न एक महिनाअघि लागू गरिएको ‘टाइम कार्ड’ प्रणाली प्रभावकारी बनेको उनले बताए ।

यात्रु चढाउने होडबाजीका कारण एक सवारीले अर्कोलाई ‘ओभरटेक’ गर्दा र तीव्र गतिमा सवारी साधन कुदाउँदा सडकमा दुर्घटना धेरै हुने ट्राफिक प्रहरी बताउँछन् ।

किलोमिटरको आधारमा ‘टाइम कार्ड’ लागू गरिएसँगै अब ट्राफिक प्रहरीले तोकेको र कार्डमा उल्लेख भएको समयमा यात्रुबहाक सवारी साधन गन्तब्यमा पुग्नु पर्ने हुन्छ । तोकिएको समय भन्दा अगाडी पुगे कारवाहीमा पर्नेछन् ।

पहिलो पटक सम्झाई बुझाई गरिने र दोस्रो पटक पनि तोकेको समयभन्दा छिटो पुगेमा एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गरिने एसपी दाहालले बताए ।

१३ स्थानमा ट्राफिक चेकजाँच

नियम कार्यान्वयनका लागि ट्राफिक प्रहरी परिचालन गरेर १३ ठाउँमा टाइमकार्ड चेकजाँच स्थल स्थापना गरिएको छ । झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, ताराबारी, मोरङको बेलबारी, गछिया, कञ्चनबारी, विराटनगर बसपार्क, सुनसरीस्थित धरानको तीनकुने, इटहरीको कलंकी मोड, पकली, कोशी कटान र भण्टाबारीलाई चेकजाँच स्थल कायम गरिएको र यी स्थानबाट नियमित चेकजाँच हुनेछ ।

‘टाइम कार्ड’ लागू भएका सवारी साधनले एक किलोमिटर दूरी पार गर्न अब न्यूनतम एक मिनेट ४८ सेकेन्ड समय लगाउनु पर्नेछ । तीव्र गति, यात्रु उठाउने होड र अस्वस्थ्य प्रतिस्पर्धाका कारण एक किलोमिटर दूरी पार गर्न एक मिनेट पनि नलगाउने गरेको ट्राफिकको अध्ययनले देखाएको छ ।

सबै सवारी साधनका चालकका हातमा थमाइएको ‘टाइम कार्ड’ हेण्डबुक आकारको छ । चालकले प्रत्येक चेक प्वाइन्टमा गाडी रोकेर उक्त हेण्डबुकमा आफ्नो समय दर्ता गराउनु पर्नेछ ।

ट्राफिक प्रहरीले ‘टाइम कार्ड’मा छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउने गरेका छन् ।

टिपर आतंक रोक्नलाई २०७५ चैतबाट टिपरमा पनि ‘टाइम कार्ड’ लागू गरिएको थियो । टिपरमा प्रभावकारी बनेपछि ‘टाइम कार्ड’ सार्वजनिक यात्रुबहाक सवारी साधनमा लगाइएको टाइम कार्ड प्रभावकारी भएको एसपी दाहालले बताए ।

प्रदेश १ मा बस, मिनी बस र माइक्रो गरेर छ हजारको हाराहारीमा सार्वजनिक यात्रुबहाक सवारी साधन छन् ।

Loading...