खाजा हुँदा खचाखच, नहुँदा शून्य विद्यार्थी

बबिता लिम्बू
विराटनगर, १ फागुन । खाजाको असर सीमान्तकृत समुदायका बालबालिकाहरूमा कति धेरै पर्दोरहेछ भन्ने विराटनगर महानगरपालिका–१ परोपकारघाटमा रहेको सयपत्री परोपकार प्राथमिक विद्यालय अवलोकन गरे थाहा पाइन्छ ।

यहाँ खाजा भएको समयमा विद्यार्थीहरू सबैजना आउने गर्दछन् भने नभएको समयमा शून्यप्रायः हुने गर्दछ । २०६५ सालमा बालविकास केन्द्रबाट आधारभूतमा रुपान्तर भएको यो विद्यालयमा ३ कक्षासम्म पढाइ हुने गर्दछ ।

पहिले विद्यार्थी नै नआउने यो विद्यालयमा एक वर्षयता खाजाको व्यवस्था गरेपछि विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ । पहिले २० देखि २५ सम्म मात्र विद्यार्थी हुने यो विद्यालयमा खाजाको व्यवस्था भएपछि ३३ छात्र र ४३ छात्रासहित विद्यार्थीे सङ्ख्या ७६ पुगेको छ ।

तर केही दिनयता खाजाको अभाव भएपछि विद्यालयमा विद्यार्थी आउन छोडेका छन् । विद्यालयका प्रधानाध्यापक छत्रबहादुर कट्वाल भन्छन्, ‘सरस्वती पूजाको दिनसम्म खाजाको व्यवस्था भएकाले विद्यार्थीहरू खचाखच थिए । अहिले खाजाको व्यवस्था छैन विद्यार्थीहरू आउँनै छोडे ।’

प्रअ कटुवालले दयालु दाताहरूको सहयोगमा विद्यालयमा खाजाको प्रबन्ध मिलाउने गरेको र थप दाताहरूको खोजी भइरहेको बताए । सयपत्री विद्यालयमा बहुसङ्ख्यक मधेशी र मुस्लिम समुदायका बालबालिकाहरू अध्ययन गर्छन् । सबैका अभिभावकहरू सुकुम्बासी भएकोले दैनिक गुजाराका लागि ज्याला मजदुरीमै व्यस्त हुन्छन् ।

Loading...