यी हुन् डी मारियाको नजरमा सर्वकालीन उत्कृष्ट पाँच खेलाडी

एजेन्सी, १ फागुन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी एन्जल डी मारियाले आफ्ना नजरमा रहेका सर्वकालीन उत्कृष्ट पाँच खेलाडीका बारेमा बोलेका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा डी मारियाले आफ्ना सहकर्मीहरू लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेयमार, किलियन एम्बाप्पे र ज्लाटान इब्राहिमोभिक विश्वका पाँच खेलाडी रहेको बताएका हुन् ।

रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वस्टारसमेत रहेका डी मारियाले यी पाँचै खेलाडीसँग छुट्टै प्रकारको क्षमता रहेको पनि बताएका हुन् ।

उनीहरू कसैलाई पनि तुलना गर्न नसकिने उनको भनाइ थियो ।

‘लियोनल एक विशेष क्षमता भएको खेलाडी हुन्,’ मेस्सीका बारेमा बोल्दै डी मारियाले भनेका छन्, ‘मैले सबै खेलाडीसँग खेल्ने मौका पाएको छु । त्यसमध्ये मेस्सी फरक छन् । इमान्दारपूर्वक भन्दा मेस्सी विश्वका उत्कृष्ट हुन् ।’

यसैगरी डी मारियाले रियलका पूर्वस्टार रोनाल्डोको बारेमा बोल्दै भनेका छन्, ‘रोनाल्डो क्षमताले भरिपूर्ण खेलाडी हुन् ।

उनी विशेषगरी शारीरिक रूपमा बलिया छन् । जिममा धेरै काम गर्छन् । मैदानमा पनि उनी उत्तिकै खटिन्छन् ।’

‘रोनाल्डोसँग खेल्न पाउनु भाग्यको कुरा हो’ उनले भने, ‘रोनाल्डो मेरा लागि झनै विशेष छन् ।’

यस्तै उनले पीएसजीमा एक वर्ष एकसाथ खेलेका ज्लाटानका बारेमा बोल्दै उनी नम्बर वान खेलाडी भएको बताए ।

‘उनी महान् व्यक्ति हुन्,’ उनले भने, ‘सबैका लागि उनी नम्बर वान हुन् ।’

हाल पीएसजीबाट एकसाथ खेलिरहेका नेयमार र एम्बाप्पे पनि डी मारियाको लागि उत्कृष्ट पाँच खेलाडीभित्र पर्छन् ।

‘नेयमार ब्राजिलियन शैलीमा खेल्छन्,’ नेयमारका बारेमा बोल्दै उनले भने, ‘मैदानमा उनी रमाइलो गर्छन् ।’

‘एम्बाप्पेले पछिल्लो समय दुनियाँलाई अचम्मित बनाउने काम गरेका छन्,’ डी मारियाले थपे, ‘एम्बाप्पेसँग विशेष क्षमता छ ।’

Loading...