२० वर्ष नपुग्दै विवाह : बच्चामा कुपोषणकाे जाेखिम

सुर्खेत, १ फागुन । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह गरिन् । सुत्केरी हुन स्वास्थ्य संस्था पुगेकी उनलाई स्वास्थ्य संस्थाले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो ।

प्रदेश अस्पताल सुर्खेतमा उनले बच्चा जन्माइन तर कम तौलको । बच्चाको तौल जम्मा एक किलो ७०० ग्राम मात्रै छ ।

विद्यालय पढ्दापढ्दै गाउँकै एक युवकसँग प्रेम विवाह भयो, कलिलो अवस्थामा आमा बनेकी उहाँलाई आमा हुँदा के–के गर्नुपर्छ राम्रोसँग जानकारी छैन ।

१७ वर्षमा विवाह बन्धनमा बाँधिएकी सुर्खेत वीरेन्द्रनगर–६ की तुलसा सिंहको पहिलो सन्तान जीवित रहेन । गर्भवती भएको सात महिनामै जन्मिएको बच्चा बचाउन नसकिएको उनले बताइन् ।

पहिलो सन्तान बितेको एक वर्षको अन्तरालमा लगातार दुई वटा सन्तान जन्मिए । तर एक छोरी कुपोषित भइन् ।

वर्षेनी बच्चा जन्माइरहने र आमालाई पोषणको कमी हुँदा जन्मिएका बच्चा कुपोषित भएका हुन् ।
उनी एक महिनादेखि पुनःस्थापनागृहबाट छोरीको उपचार गराइरहेकी छन् ।

दैलेख पाचिकाडाकी सुन्तली शर्मा पनि कुपोषित बच्चालाई पुनःस्थापनागृहमा राखेर उपचार गराइरहेकी छन् ।

कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ । कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुन सकेको छैन ।

कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा २० वर्षमुनिका बच्चाको आमा प्रायः आउने गरेका छन् । पुनःस्थापना गृहका प्रमुख प्रभा सिंहले पुनःस्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिको रहेको जानकारी दिए ।

पोषणगृहको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएको छन् । ती मध्ये २१ बालिका र ३९ बालक रहेका छन् ।

शीघ्र कुषोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए । प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका र छलाई अन्यत्र रिफर गरिएको छ । कुषोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ ।

कर्णालीमा बालविवाहको दर बढ्दो छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी रहेको तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झण्डै आधा सङ्ख्या २० वर्षमुनिको आमा रहेको बताउछिन् ।

प्रदेश अस्पतालका प्रमुख डा डम्बर खड्काका अनुसार अस्पतालमा प्रसूतिमा जटिलता आउने अधिकांश २० वर्षमुनिका रहेका छन् । रासस

Loading...