पत्रपत्रिकामा प्रदेश : चीनमा अलपत्र पर्नेमा विराटनगरका पनि, धरानमा विषादी प्रयोगशाला अलपत्र

विराटनगर, १ फागुन । कोरोना भाइरसका कारण चीनमा विराटनगरका एक युवक रोकिएका छन् ।

चीनको वुहान सहरदेखि करिब तीनसय किलोमिटर दुरीमा रहेको चिनचाओ सहरमा बसेर इन्टर्सीप गर्दै आएका विराटनगरका अभिनाष श्रेष्ठ राेकिएका हुन् ।

उनी विराटनगरका चिकित्सक कैलाश श्रेष्ठका छोरा हुन् । कोरोनाका कारण अलपत्र परेका आफ्ना छोरासहित अन्य नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरेको खबर आजको न्यू सृष्टि दैनिकमा छ ।

उद्योग संगठन मोरङले आयोजना गर्ने विराट एक्स्पो २०७६ को तयारी पुरा भएको छ ।
कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आगामी २ फागुनदेखि १० फागुनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ३४० वटा स्टल रहने छन् ।

‘आर्थिक विकासको मूल आधार, उद्योग, पर्यटन, कृषि र व्यापार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गर्ने विराट एक्स्पो २०७६ का संयोजक भोलेश्वर दुलालले जानकारी दिएको खबर प्रदेश १ बाट प्रकाशित हुने दैनिक पत्रिकाहरुमा छ ।

धरानमा विषादी जाँच गर्ने प्रयोगशाला अलपत्र परेको छ । कृषि उपज बजारमा विषादी अवशेष जाँचका लागि प्रयोगशाला भवन बनाइएको छ । १६ लाख खर्च गरेर निर्माण गरिएको भवनमा ३० लाख रुपैयाँ बराबरको उपकरण ल्याएर एक वर्ष अघि नै सञ्चालनको तयारी थियो । तर भवन अलपत्र परेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

Loading...