Rumpum

Rumpum Advertisement

लोहन्द्रा खोलामा स्काभेटर प्रयोग गरी उत्खनन, स्थानीय प्रशासन निरीह

लोहन्द्रा खोलामा स्काभेटर प्रयोग गरी उत्खनन, स्थानीय प्रशासन निरीह

विराटनगर, २९ माघ । वातावरणीय प्रभाव मूल्याङकन गरिएको खोलाहरूबाट नदीजन्य पदार्थ उत्खननका लागि निश्चिम मापदण्ड तोकिएको छ ।

तर मोरङको ग्रामथान गाउँपालिकाको लोहन्द्रा खोलामा भने मापदण्डविपरीत उत्खनन् भइरहेको फेला परेको छ ।

खोलाभित्रबाट स्काभेटर प्रयोग गरी जथाभावी उत्खनन गरेका पाइएको हो ।

उत्खननका कारण ग्रामथान गाउँपालिका–४ का खोला नजिका बस्ती जोखिममा परेको छन् ।

ग्रामथान गाँउपालिका–४ मोतीपुर र बेलबारी नगरपालिकाको सीमाना भएर बग्ने लोहन्द्रा खोलामा ८ फिटभन्दा बढी गहिरो खाडल परेको छ ।

अन्यन्त्र नखनिएपनि सो क्षेत्रमा ठेकेदारले दिन बिराएर स्काभेटर प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् ।

सतह गहिरो भएका कारण खोलाले हिउँदमा पनि छेउछाउका कृषियोग्य जमिन कटान गर्न थालेको छ ।

खोलाले कटान गर्न थालेका कारण आफूले ५ बिग्घा क्षेत्रफलमा लगाएको जंगलसमेत कटानमा पर्ने अवस्था आएको स्थानीय प्रकाश सरदारले बताए ।

उनका अनुसार उत्खननका कारण शुक्रबारे बस्ती पनि जोखिममा छ ।

स्काभेटर प्रयोग गरी खनिएको बालुवा टिपर र ट्याक्टरको प्रयोग गरी बाहिर निकासी गर्दै आएका छन् ।

अबैध उत्खननका कारण भोला चोक नजिकै निर्माण भएको पैनी, सार्वजनिक बाटो र आर्यघाटको संरचना कटानको जोखिममा परेको स्थानीय कुमार पराजुलीले बताए ।

लोमस गंगा घाटका सचिवसमेत रहेका उनले स्थानीय सरकारले अबैध उत्खनन् नियन्त्रण गर्न चासो नदिएको बताए ।

स्थानीय सरकार नै ठेकेदारसँग मिलेका कारण बस्तीमा खोला पस्ने जोखिम बढेको स्थानीय पारस सरदार बताउँछन् ।

स्थानीय स्रोतको संरक्षण गर्ने दायित्व पाएको सरकार नै ठेकेदारको पक्षमा लागेको उनको गुनासो छ ।

उत्खननमा खटिएका संजोग माझीले गाउँपालिकाले चिट्ठी दिएका कारण आफूले स्काभेटर प्रयोग गरेको बताउँछन् ।

आठ फिटभन्दा गहिरो खाडक खनेर बालुवा निकालिएको भएपनि उनी वडा कार्यालयको सिफारिसकै आधारमा ४ फिटमात्रै उत्खनन् गरेको बताउँछन् ।

निरीह स्थानीय सरकार

ग्रामथान गाउँपालिका–४ का वडाध्यक्ष बैजनाथ विश्वासले खोलामा हुने उत्खनन रोक्न नसकिने बताउँछन् ।

बेलबारी, सुन्दरहरैंचा र ग्रामथान गाउँपालिकाले संयुक्त रूपमा खोला ठेक्का लगाएको बताउँदै उनले ठेकेदारलाई तोकिएअनुसार उत्खनन गर्न आग्रह गरिएको बताए ।

स्थानीयको गुनासो आएपछि आफूले खोला अवलोकन गरेको बताउँदै उनले बस्ती जोखिमा पर्ने गरी काम गर्न नदिने बताए । कानुनअनुसार ठेक्का दिएका कारण ठेकेदारलाई रोक्न नसकिने उनले बताए ।