मोरङमा दादुरा रुवेलाको खोप दुई चरणमा

रंगेली, २९ माघ । आगामी फागुन र चैत महिनामा सञ्चालन हुने दादुरा रुवेला खोप अभियानमा मोरङका १ लाख बढी बालबालिकालाई लगाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा प्रदेश १ का जिल्लाहरूमा फागुनमा पाँचौं खोप अभियान सञ्चालन हुन लागेको हो ।

फागुन ६ गतेदेखि १४ गतेसम्म चल्ने अभियानमा मोरङका १ लाख ९ हजार ९ सय २९ बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

सन् २०२३ भित्रमा नेपालबाट दादुरा रुवेला निरुपण भएको घोषणा गर्ने सरकारको तयारी छ ।

सन् २०२० भित्रमा घोषणा गर्ने लक्ष्य राखिए पनि पूरा नभएपछि सन् २०२३ भित्रमा नियन्त्रण गर्ने सरकारी तयारी रहेको बताइएको छ ।

नेपालमा दादुरा रुवेला निरुपण भएपनि नियन्त्रण भइनसकेको प्रमुख बस्नेतले बताए ।

सन् २०१९ को तथ्याङ्कअनुसार प्रदेश नं. १ मा ३२ जनामा दादुरा भएको पाइएको थियो ।

मोरङको सुनवर्षी र रतुवामाईमा दादुरा भएको पाइएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

सन् २०१९ को तथ्याङ्क अनुसार देशभरिका १ हजार ६ सय ४५ मा गरिएको परीक्षणमा ३ सय ६६ जनामा दादुरा भएको पाइएको थियो ।

दादुराविरुद्धको खोप शिशु ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा दिनुपर्ने हुन्छ ।

दादुराको खोपसँगै मोरङमा पोलियो थोपा पनि खुवाइँदैछ ।

अभियानअन्तर्गत जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाइने कार्यक्रम छ ।

फागुन ६ देखि १४ गतेसम्म मोरङका ८ वटा स्थानीय तहका ४१ हजार १ सय ७२ बालबालिका र फागुन १६ देखि २४ सम्म विराटनगर महानगरिपालिकासहितका ९ वटा स्थानीय तहका ४७ हजार ८ सय ४६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहको खोप अधिकृत रामानन्द यादवले बताए ।

पहिलो चरणमा कानेपोखरी, पथरीशनिश्चरे, रतुवामाई, कटहरी, धनपालथान, जहदा र रंगेलीमा पोलियोथोपा खुवाइने कार्यक्रम छ ।

दोश्रो चरणमा विराटनगर, बुढीगंगा, ग्रामथान, बेलबारी, केराबारी, सुन्दरहरैँचा, लेटाङ, उर्लाबारी र मिक्लाजुङमा ख्वाइने कार्यालयले जनाएको छ ।

Loading...