‘सेन्टी भाइरस’को प्रोमोशनल गीत निर्माणाधीन रंगशालामा छायांकन

विराटनगर, २९ माघ । ९ फाल्गुनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन सकिएको छ ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा उक्त गीतको छायांकन गरिएको हो ।

फिल्मको प्रचार–प्रसारमा सहयोग पुग्ने तरिकाले ‘पार्टी जिताइदे’ बोलको गीतको छायांकन सकिएको हो ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू कुन्जना घिमिरे, सन्दीप क्षेत्री, विल्सनविक्रम राईको प्रस्तुति देख्न सकिन्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म सामाजिक व्यंग्यमा आधारित रहेको छ ।

फिल्ममा यी तीन कलाकारहरूका साथै सीताराम कट्टेल, दयाहाङ राई, राजाराम पौडेल, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारको अभिनय छ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

शैलेन्द्र डि. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्दैछन् ।

सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा डिन्डु लामा ह्योल्मो र डिन्डुका भाइ फुर्पाको लगानी रहेको छ ।

२ करोड लगानीमा तयार भएको फिल्म ‘सेन्टी भाइरस’को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

फिल्म हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भन्दै सम्पूर्ण नेपालीलाई फिल्म हेर्न सीतारामले आग्रह गरेका छन् ।

कुञ्जनाले ‘सेन्टी भाइरस’बाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुशी व्यक्त गरेकी छन् ।

Loading...