सीमावर्ती क्षेत्रबाट दुई युवतीको उद्धार

विराटनगर, २८ माघ । भारतबाट लैजान खोज्दै गरेको अवस्थामा प्रहरीले दुई युवतीलाई विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट उद्धार गरेको छ ।

भारतको नयाँ दिल्ली हुँदै कुवेत लैजाने आश्वासन दिएर लगिएका युवतीलाई आफन्त नेपाल नामक संस्थाको सहयोगमा प्रहरीले उद्धार गरेको हो ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएका २० र २२ वर्षीया तामाङ थरका युवतीलाई रेलमा चढाएर दिल्लीसम्म लैजाने तयारी थियो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले भारतीय भूमि पुग्नै लाग्दा उद्धार गरिएको बताए ।

प्रहरीले घरेलु कामदारका रूपमा युवतीलाई लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ । महिलालाई घरेलु कामदारका रूपमा कुवेत लैजान प्रतिबन्ध लगाइएको छ ।

सिन्धुपाल्चोकका अर्जुन तामाङले कुवेत पठाउने भन्दै युवतीको राहधानी बनाइदिएका थिए ।

युवतीलाई भारतसम्म प¥याउन बिरामी भेट्नका लागि विराटनगर आएकाले जोगबनी जान लागेको बताएका थिए ।

अर्जुन तामाङ र विराटनगर–५ का राजुप्रसाद रिजालबीच युवतीहरुलाई जोगवनीबाट रेल चढाएर नयाँ दिल्ली पुर्‍याउने योजना बनाएका थिए । सोही योजनाका आधारमा उनीहरू विराटनगर आएका थिए ।

विराटनगरमा रिजालले विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मीसँग पनि भेट गराएका थिए ।

भेटपछि कुर्मी युवतीलाई साथमा लिएर रानीतर्फ जाने बस चढेका थिए भने रिजाल युवतीका सामान तथा पोसपार्टसहित बोकेर जोगवनीतर्फ हिँडेका थिए ।

झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भन्दै युवतीहरुले तामाङ, रिजाल र कुर्मीविरुद्ध किटानी जाहेरी दिएका छन् ।

तामाङ र रिजाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले नजाएको छ ।

पक्राउ परेका कुर्मीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Loading...