Rumpum

Rumpum Advertisement

त्रिकोणात्मक सिरिज ओमानलाई

त्रिकोणात्मक सिरिज ओमानलाई

काठमाडौं, २८ माघ । आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज ओमानले जितेको छ । मंगलबार भएको खेलमा अमेरिकालाई ९२ रनले हराउँदै ओमानले सिरिज जितेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा भएको खेलमा अमेरिकालाई हराएसँगै ओमानले ४ खेलमा ४ जित निकाल्दै सिरिज जितेको हो । ओमानले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.१ ओभरमा अलआउट हुँदै १ सय ८४ रन मात्र बनायो ।

अमेरिकाका लागि निरार्ग केटनकुमार पटेलले सर्वाधिक ५२ रन बनाए । यस्तै आरोन जोन्सले ४७ रन बनाउँदा इयान होल्याण्डले २८ तथा जाभियर मार्शलले २३ रन जोडे ।

बलिङतर्फ बिलाल खान र अकिबले समान ३–३ विकेट हात पारे ।

त्यसअघि टस हारेर सुरुआतमा ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २ सय ७६ रन बनायो । ओमानका अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे ।

नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे ।

अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खलेर चार छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको साझेदारी निभाए ।

अकिब र मक्सुदको उत्कृष्ट ब्याटिङका कारण ओमानले सम्मानजनक स्कोर खडा गर्न सकेको हो । अन्य खेलमा जस्तै ओमानले सस्तैमा प्रारम्भिक ब्याटस्म्यान गुमाएको थियो । जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए ।

ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए ।

बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन तीन विकेट लिए । सौरभले १० ओभर बलिङ गर्दै तीन मेन राखी रन खर्चिएका थिए । रुस्टीले १० ओभरमा ६० रन दिए । अन्य बलरले भने विकेट लिन सकेनन् ।