जापानमा थप ६५ जनालाई कोरोना, संक्रमित हुनेहरूको संख्या १ सय ३५ पुग्यो

एजेन्सी, २८ माघ । जापानमा थप ६५ जनालाई कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

पानी जहाजमा आएका व्यक्तिहरूको परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले यस विषयमा पुस्टि गर्दै सोमबार जानकारी दिएका हुन् ।

अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस संक्रमित हुनेहरूको संख्या १ सय ३५ पुगेको छ ।

पछिल्लो पटक शंका लागेका कुल १ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ५६ जनाका सङ्क्रमणको पुष्टि भएको थियो ।

उक्त पानी जहाजमा जापानबाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन् ।

पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भाइरसको सङ्क्रमण भएको र उनीहरूमध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन् ।

तर, मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना सङ्क्रमित हुनेहरू कुन देशका नागरिक हुन भन्नेबारेमा भने खुलाइएको छैन ।

उनीहरूको परीक्षण अझै पनि जारी रहेको उल्लेख गरिएको छ ।

Loading...