दर्शकले चाहे ‘साङ्लो २’ बन्छ : विराज भट्ट

विराटनगर, २८ माघ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’ले बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । फिल्मलाई दर्शकले उत्साहजनक साथ दिइरहेको छ ।

फिल्मको व्यापारबाट उत्साहित भएका कारण र दशर्कले ‘साङ्लो २’ मागेका कारणले निर्माता, निर्देशक तथा अभिनेता विराज भट्ट ‘साङ्लो’को सिक्वेल बन्न सक्ने बताएका छन् ।

विराज जति हल पुगेका थिए त्यहाँ दर्शकले फिल्मको दोस्रो सिक्वेल चाहना गरेकाले ‘साङ्लो २’ बन्न सक्ने बताएका हुन् । विराजले ‘साङ्लो २’ को विषयमा भने हालै सोचेका छैनन् ।

‘फिल्मलाई दर्शकले स्वीकार्नु हुन्छ वा हुन्न भन्ने विषयमा नै प्रश्न थियो । तर, दर्शकले यसलाई अत्याधिक रुचाइदिनु भएको छ र उहाँहरूले फिल्म क्षेत्रमा रहेर काम गरोस् भन्ने चाहनु हुन्छ भने म यही नै रहेर काम गर्छु,’ विराजले भने ।

लामो अन्तरालपछि पनि पहिला पाएको माया र अहिले पाएको मायामा कुनै कमी नभएको भन्दै विराजले खुशी ब्यक्त गरेका छन् । विराजको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘साङ्लो’ मा विराजका साथ निकिता चण्डक, प्रकाश शाह, अमित गिरी, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको छ ।

नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको रुपमा राम्रो छाप बनाएका विराज केही वर्ष भोजपुरी फिल्मतिर लागेका थिए ।

Loading...