झोलुङगे पुलले आठ घण्टाको बाटो दुई घण्टामा छोट्यायो

खोटाङ, २८ माघ । सुनकोशी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि आठ घण्टाको बाटो दुई घण्टामा छोटिएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ भाते जोड्ने कुनाइघाटको झोलुङ्गे सुनकोशी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि आठ घण्टाको पैदलबाटो दुई घण्टामा छोटिएको हो ।

झोलुङगे पुल निर्माण नहुँदा दुवैतर्फका मानिसहरू लामो बाटो हिँडेर गन्तव्यमा पुग्न बाध्य थिए ।

पुलको अभावमा दुवैतर्फका मानिसहरू जोखिम मोलेर काठको डुंगा चढेर सुनकोशी नदी तर्नेगर्थे ।

वर्षौँदेखि डुङ्गाको भरमा आवतजावत गरिँदै आइएको सुनकोशीस्थित कुनाइघाटमा सस्पेन्सन ब्रिज डिभिजन (एसविडि) पुलचोक काठमाडौँको एक करोड नौँ लाख लागतमा १ सय ५८ मिटर लम्बाई भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका जिल्ला सचिवालय सदस्य फडेन्द्रकुमार राईका अनुसार दुर्गम तथा सुख्खाग्रस्त क्षेत्र मानिने दुर्छिमको कुनाइघाटमा वर्षादको समयमा डुङ्गा चल्दैनथ्यो ।

राईघाट वा बतासेघाट घुमेर भाते जानुपर्दा आठ घण्टा समय लाग्ने गर्दथ्यो ।

जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी आसपासका गाउँमा उपभोग हुने अधिकांश कृषि उपज सुनकोशी पारिको लिम्चुङबुङ गाउँपालिका–१ भातेबाट ल्याउने गरिन्छ ।

कृषि बालीका लागि उर्वरभूमि मानिने लिम्चुङबुङ गाउँपालिकाको भातेमा उत्पादन भएको मकै, कोदो, दाल, चामललगायत डुङ्गामार्फत हलेसी तार्ने गरिएको थियो ।

१० माघदेखि झोलुङ्गे पुल औचापरिक रूपमा सञ्चालनमा आएपछि स्थानीय हर्षित बनेका छन् ।

Loading...