‘मेस्सी र रोनाल्डोले एउटै क्लबबाट खेल्न सक्छन्’

एजेन्सी, २८ माघ । स्पेनिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष अरिइडो ब्राइडाले स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले एउटै क्लबबाट खेल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

उनले ‘राई रेडियो वान’सँगको अन्तर्वार्तामा बार्सिलोनाका कप्तान मेस्सी र युभेन्टसका फरवार्ड रोनाल्डोले एकसाथ खेल्न सक्ने बताएका हुन् ।

पछिल्लो समय अर्जेन्टिनी स्टार मेस्सी क्लब छोड्ने विषयमा चर्चामा छन् ।

क्लबका खेल निर्देशक इरिक अबिडालसँगको मनमुटावका कारण मेस्सीले क्लब छोड्नसक्ने जनाइएको छ ।

यस्तैमा मेस्सीलाई लिएर म्यानचेस्टर सिटीका साथै इटालियन क्लब युभेन्टस पनि इच्छुक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

यस्तैमा बार्सिलोनाका पूर्वअध्यक्ष ब्राइडाले पनि मेस्सीले क्याप नोउ छोड्ने आशंका गर्छन् ।

मेस्सीले बार्सिलोना छोड्ने धेरै कारण भएको उल्लेख गर्दै उनी मेस्सी र रोनाल्डोले एउटै क्लबबाट खेल्न सक्नेमा विश्वस्त छन् ।

‘मेस्सी र रोनाल्डो साँच्चै राम्रा खेलाडी हुन्, ’ उनले रेडियो एन्च‘इओ स्पोर्ट्स कार्यक्रमका क्रममा भनेका छन्, ‘मेरो विचारमा यी दुईले अब एक साथ काम गर्नुपर्छ । उनीहरू एक साथ हुन सक्छन् ।’

यसैगरी ब्राइडाले मेस्सीलाई बार्सिलोना छोड्नु कठिन भए पनि असम्भव नभएको बताए ।

उनले भने, ‘मेस्सी बुहप्रतिभाशाली खेलाडी हुन् । उनले बार्सिलोनामा राम्रो गरिरहेका छन् । तर, उनी लामो समयदेखि त्यहाँ छन् । यसैले पनि उनलाई बार्सिलोना छोड्न गाह्रो होला तर असम्भव भने छैन ।’

Loading...