
हालै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई सिनियर विद्यार्थीहरूले र्यागिङ गरेपछि होस्टेल जान मानेनन् । उक्त विद्यार्थीलाई होस्टल पुर्याउन आएका अभिभावकहरूका कारण सुरक्षा कमजोर भएको भन्दै सिनियर विद्यार्थीहरूले राति झगडा गरेपछि इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेको टोली पुगेर स्थितिलाई नियन्त्रणमा लिनुपरेको थियो ।
होस्टलको सुरक्षा र त्यहाँ नयाँ विद्यार्थीहरूलाई हुने र्यागिङबारे प्रतिष्ठान प्रशासनलाई बोलाएर छलफल गरेपछि प्रतिष्ठानमा नयाँ विद्यार्थीहरू निकै समस्यामा रहेको र सिनियर विद्यार्थीहरूले तनाव दिएर कतिपय पढाइ छाड्न बाध्य बनेको र कोही मानसिक रोगीसम्म भएको जानकारी प्रहरीले पाएको थियो ।
बीपीमा र्यागिङलाई लिएर भएको यो पहिलो घटना होइन । नेपालमा अरु कलेज तथा स्वास्थ्य संस्थामा खासै र्यागिङ नभएपनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने र्यागिङ धेरै भएको देखिन्छ । हरेक वर्ष यहाँ र्यागिङको बहानमा नयाँ विद्यार्थीहरूमा मानसिक र शारीरिक यातना दिइन्छ । सबै क्रियाकपाल होस्टल र कक्षामा हुने भएकोले प्रशासनले घटना प्रत्यक्ष देख्न पनि पाउँदैनन् । तर कतिपय घटना भने देखादेखी पनि हुनेगर्दछन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको एक अनुसन्धानबाट दुई सय जनामध्ये ६० जना उत्तरदाताहरूमध्ये पनि बहुमत ७१ प्रतिशतले व्यक्तिगत रूपमा र्यागिङको शिकार भएको अनुभव गरेको बताएका हुन् । जसमध्ये ३० प्रतिशत ब्राह्मण तथा ३१.७ प्रतिशत तराईका बासिन्दाहरूमा र्यागिङ हुने पाइएको हो ।
संस्थानबाट आधारित अध्ययनमा अन्य मेडिकल विद्यार्थीको तुलनामा महिलाहरू २८.३ प्रतिशत धेरै प्रभावित भएको पाइएको थियो । मेडिकल, इञ्जिनियरिङ्ग संस्था तथा त्यहाँका होस्टेलमा हुने र्यागिङ रमाइलोको लागि गरेको पाइन्छ, जसले चोट पुर्याउन खोजेको भने हुँदैन । तर, अन्य विद्यार्थीहरूलाई भन्दा पनि मेडिकल विद्यार्थीहरूमा हुने तनावलाई प्रभावित गर्नेहरूमध्ये र्यागिङ शीर्ष स्थानमा पर्ने गर्छ ।

र्यागिङका धेरैजसो खबर भए पनि डर तथा धम्कीका कारण बाहिर आउन सकेका हुँदैनन् । नेपालमा र्यागिङविरुद्ध कुनै प्रकारको कानून बनेको छैन । तर, र्यागिङ गर्ने तरिकामा परिमार्जनको निश्चित आवश्यकता रहेको र यसका लागि अन्तर्क्रियात्मक कार्यक्रम गर्नुपर्ने ठूलो आवश्यकता भएको अनुसन्धानमा संग्लग्न भएका व्यक्तिहरूले महसुस गरेको बताएका छन् ।
कुनै पनि नयाँ शैक्षिक संस्थामा विद्यार्थीहरूमा प्रवेश गर्दा स्वागत गरिन्छ । तर, केही विद्यालय, क्याम्पसहरूको शैक्षिक वातावरणमा प्रवेश गर्दा सिनियर विद्यार्थीले नयाँ विद्यार्थीहरूलाई र्यागिङ अर्थात् अभद्र व्यवहार गरेर सताउने गरिएको छ । र्यागिङअन्तर्गत जिस्काउने, हैरान गराउने, गाली गर्ने, हात उठाउने, अफवाह फैलाउने, लैंगिक पहिचान तथा अन्य कारणहरूको प्रयोग गरी हाँसोको पात्र बनाउने, मानसिक यातना दिने, धम्काउने आदि पर्छन् ।
र्यागिङ पश्चिमी देशहरूबाट प्रचलनमा आएको बुझिन्छ । निश्चित युरोपियन विश्वविद्यालयहरूमा नयाँ विद्यार्थीलाई स्वागत गर्दा सिनियर विद्यार्थीहरू व्यवहारिक ठट्टा गर्थे । पछि विस्तारै यो प्रचलन सबै राष्ट्रमा फैलँदै गयो, तर समयक्रममा यसले नकारात्मक बाटो समात्यो र सिनियर विद्यार्थीहरूले जुनियर विद्यार्थीलाई होच्याउने र हेला गर्ने मात्र नभएर शारीरिक रूपमा समेत दुःख दिन सुरु भयो । र्यागिङ गर्ने समूह प्रायः बल र पैसाले पनि पहुँचवालाहरू हुने गर्दछन् । जसले गर्दा यो समूहको विरोध गर्ने विद्यार्थीले पनि सिनियरहरूको बहानामा विभिन्न धम्कीको सामना गर्नुपर्छ । पश्चिमा देशहरूबाट सुरु भएको र्यागिङ पूर्वदेशहरूमा पनि देखासेखीका रूपमा फैलियो । खासगरी डाक्टर, ईन्जिनियर र नर्स पढाइ हुने कलेजहरूमा बढी र्यागिङ हुने गरेको छ ।
पूर्वी देशहरू जस्तै नेपालमा कुनै शैक्षिक संस्थाहरूमा पनि र्यागिङ हुँदै आएको देखिन्छ । जसमा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बढी विवादमा छ । यहाँ आफूभन्दा ठूलोलाई आदर गर्नु पर्छ भन्ने हिसाबले हरेक वर्ष नयाँ विद्यार्थीहरूमाथि गरिने र्यागिङले नराम्रो बाटो लिन थालेको छ । नयाँ विद्यार्थीहरू हुँदा र्यागिङको कष्ट भोगेका विद्यार्थीहरूले नै आफूलाई सिनियर भनाएर आफूभन्दा पछि आउने विद्यार्थीहरूलाई र्यागिङ गरेर दुःख दिने गर्दछन् । सुते–बसेको समयमा तर्साउनु, सिनियरसँग आँखा जुधाएको भन्दै मुर्गा बनाउनु, उस्तै पोशाक लगाउन नदिनु, बाटो छाड्न लगाउनु, अनुशासन उल्लंघन गरेको भन्दै जर्बजस्ती गीत गाउन तथा नृत्य गर्न लगाउनु, लुगा खोल्न बाध्य पार्नु, गर्न नसक्ने यातनापूर्ण सजाय दिनु, आफूलाई सिनियर भनाएर जुनियरको कोठा, शौचालयमा जानी जानी फाहोर गरिदिनु आदि अनेक तरिकाले नयाँ विद्यार्थीहरूलाई दुःख दिने गरिन्छ ।
यसले गर्दा विभिन्न राष्ट्रमा र्यागिङविरुद्ध विभिन्न अभियानहरू सञ्चालन हुन थालेका छन् । अहिले भारत, क्यानाडा र जापानमा र्यागिङमा प्रतिबन्ध नै लगाइएको छ । भारतमा सन् २०१७ मा ७० प्रतिशत र्यागिङ बढेको कारणले भारतीय कानूनअनुसार, र्यागिङले ६ महिना देखि १० वर्षसम्म जेल पठाउनुका साथै ५० हजार जरिवानाको सजाय तोकेको छ । अहिले भारतको सबै क्याम्पसमा र्यागिङ प्रतिबन्ध गरिएको छ । विभिन्न अभियान सञ्चालन गरिए पनि विभिन्न देशमा यस्तो होच्याउने काम भने कम भएको छैन ।
व्यक्तिको आत्मासम्मानमा ठेस पुर्याउनुका साथै मनोविज्ञानमा नकारात्मक असर पारी गम्भीर दुर्घटनाहरूसमेत निम्त्याउन सक्ने हुँदा विद्यालय, क्याम्पस तथा शैक्षिक वातावरणमा हुनसक्ने सम्भावित र्यागिङ सामाजिक विकृति मात्र नभएर दण्डनीय अपराध पनि हो । यसलाई एउटा सामान्य घटना मात्र नभएर मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा समेत लिन थालिएको छ । नेपालका स्कुल–कलेजहरूमा पनि फिल्महरूबाट वा अरुको देखेर र्यागिङ फेसनजस्तै बनिसकेको छ । भारतीय कलेज तथा विश्वविद्यालयहरूमा यस्ता घटनाले गम्भीर स्थिति सिर्जना गरेको भन्दै बारम्बार खबर आइरहेको हुन्छ । र्यागिङकै कारण भारतका विभिन्न स्थानमा विद्यार्थीहरूले आत्महत्यासमेत गरेका छन् । यसैले भारतले शेक्षिक संस्थाहरूमा र्यागिङ विरोधी कानून नै बनाएको छ । र, विद्यार्थी संगठनहरूले पनि र्यागिङ विरोधी अभियानहरू चलाएर शैक्षिक वातावरणलाई सुधार्ने काम गराएका छन् ।
विज्ञहरूका अनुसार सिनियर विद्यार्थीहरूबाट र्यागिङ भएको विद्यार्थी समूहमा बस्न वा काम गर्न रुचाउँदैन । जसकारण ऊ आफ्नो छुट्टै संसार बनाउन थाल्छ । पढेर राम्रो करिअर बनाउने सोच लिएर आएका विद्यार्थीहरूले शारीरिक अस्वस्थता र दुर्घटना नभए पनि र्यागिङकै कारण मानसिक तनावको सामना गर्नुपर्दछ । र्यागिङकै कारण कतिपय विद्यार्थीहरू कलेज जान डराउने, कलेज छोड्नुपर्ने अवस्थामा पुग्छन् । जसले करियरमा प्रत्यक्ष असर पुर्याउँछ । अझ कतिपय अवस्थामा त आत्महत्याजस्ता घटना घटेको पनि पाइन्छ ।
सुरक्षित वातावरणमा मात्र शैक्षिक विकास सम्भव हुन्छ । यसैले शैक्षिक वातावरणमा हुने कुनै पनि प्रकारका अभद्र व्यवहार तथा हैरानीका सम्भावनालाई रोकथाम गरी विद्यार्थीहरूमा सिकाइ र विकासको आदर्श वातावरण तयार गर्नुपर्छ । यसैले नेपालमा पनि र्यागिङविरुद्ध कानून निर्माण हुन आवश्यक छ । साथै विद्यार्थी संगठन, समूह, परिषद, अभिभावक, शैक्षिक संस्था, नागरिक समाज र प्रशासन सबैले र्यागिङ विरोधी अभियानमा सघाउन जरुरी छ ।