Rumpum

Rumpum Advertisement

आगलागीबाट ३४ लाखभन्दा बढीको क्षति

आगलागीबाट ३४ लाखभन्दा बढीको क्षति

विराटनगरर, २७ माघ । एक नम्बर प्रदेशअन्तर्गत आइतबार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाखभन्दा बढीको क्षति भएको छ ।

इलामको सूर्योदय नगरपालिका–२ मा बस्ने शसी क्षेत्रीको घरमा आइतबार बेलुका आगलागी हुँदा अन्दाजी २७ लाख ८ हजार मूल्यबराबरको क्षति भएको छ ।

बेलुका ७ः५० बजेको समयमा क्षेत्रीको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी भएको थियो ।

आगलागीबाट क्षेत्रीको घरमा रहेको सुन, नगद, ईलेक्ट्रोनिक्स सामान, फर्निचरका सामान काठपात, अन्नपात, लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

आगलागी भएको खबर पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी संखुवासभाको पाचँखपन नगरपालिका–७ बाहुनगाउँ बस्ने पदमनाथ कुइँकेलको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा अन्दाजी ७ लाख मूल्यबराबरको क्षति भएको हो ।

आगलागीबाट कुइँकेलको टिनको बेरा भएको ३ तले घर, घर भित्र रहेको नगद, चाँदी, लत्ताकपडा, अन्नपातलगायत घरभित्र रहेका सम्पूर्ण सामान र कुइँकेलको भतिजा कमल कुइँकेलको ग्वाली घरमा समेत आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

आगलागी भएको खबर इलाका प्रहरी कार्यालय वानामा प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।