खानेपानीको धारासमेत छैन विराटनगरको मरिक बस्तीमा

खानेपानीको धारा नहुँदा पोखरीको डिलमा गाडेको चापाकलको फोहोर पानी पिउन बाध्य छन् विराटनगर–११ का मरिकहरू।

बविता लिम्बू
विराटनगर, २७ माघ । फोहोर, शौचालय र सिनो सफा गरेर विराटनगर महानगरवासीलाई सफासुग्धर राख्ने मरिकहरूले भने धाराको शुद्ध पानीसमेत पिउन पाएका छैनन् ।

विराटनगर महानगरभरि खानेपानीको धारा जडान गरिएपनि बाक्लो बसोवास भएको वडा नं–११ स्थित मरिक बस्तीमा आजसम्म खानेपानीको धारा जडान भएको छैन ।

aa

खानेपानीको धारा नहुँदा बस्तीभरिका मरिकरू वर्षौंदेखि फोहोर लेदो पानी आउने चापाकलको पानी पिउँदै आएका छन् ।

स्थानीयका अनुसार बस्ती छिर्ने गल्ली हुँदै पहिलो घरसम्म खानेपानीको पाइप लगिएको छ ।

तर, ५० घरपरिवार बसोवास गरिरहेको मरिक बस्तीमा भने धारा लगिएको छैन ।

छेउमा आइसकेको पाइपमा धारा नजोडिदिनु आफूहरूमाथि विभेद भएको स्थानीय किशन मरिक दुखेसो गर्छन् ।

उनले शुद्ध खानेपानीको अभावमा फोहोर पोखरीको छेउमा रहेको चापाकलबाट आउने फोहोर पानी पिउनुपरिरहेको बताए ।

उनी भन्छन्, ‘सबै ठाउँका घरहरूमा खानेपानीका लागि धारा जोडिएका छ, सबैले धाराको शुद्ध पानी पिउँछन् तर हामी चापाकलको फोहोर पानी पिउन बाध्य छौँ ।’

विराटनगर महानगरपालिका वडा नं–११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने साँघुरो भएकाले मरिक बस्तीमा खानेपानीको पाइप बिछ्याउन सम्भव नभएको बताए ।

उनले भने, ‘मरिक बस्तीलाई नै व्यवस्थित तरिकाले नयाँ ठाउँमा स्थानान्तरण गर्ने योजना छ यसैले पनि धारा बिस्तार नभएको हो ।’

‘ सफा खानेपानी सबैले पिउन पाउनु मौलिक अधिकार हो । अझ स्थानीय सरकारका रूपमा रहेको महानगरपालिकाले त सीमान्तकृत दलित समुदायका बस्तीहरूमा सार्वजनिक धारा जडान गरिदिनुपर्दछ । तर वर्षौंदेखि अरुलाई फोहोरमैलाबाट जोगाउने मरिकहरू आफैँले फोहोर पानी पिउन बाध्य हुनु बिडम्बना हो’, मरिक उत्थान समाजका अध्यक्ष बलदेव मरिक बताउँछन् ।

Loading...