क्वालिटीमा काम गर्दा प्रेम सम्बन्ध, फोन नउठेपछि हत्या

विराटनगर, २६ माघ । दुहबी सुनसरीकी सम्झना खत्री परियारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३२ वर्षीय खत्रीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई मोरङको बुढीगंगा गाउँपालिका– ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद शाहलाई पक्राउ गरेको हो ।

शाह क्वालिटी नुडल्स प्रालीका स्टोर इञ्चार्ज हुन् । सामान्य विवादमा मंगलबार बेलुका सुरेन्द्रले सम्झनाको हत्या गरेको प्रहरीले बताएको छ । शुक्रबार विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा सम्झनाको शव फेला परेको थियो । शुक्रबार बिहान ट्याक्टर चालक बाबुनन्द कामतले उखुबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सञ्जय कामतको जग्गामा श्यामकुमार कामतले उखुखेती गर्दै आएका थिए । विराटनगरको रिङरोडसँग जोडिएको उखुबारीमा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले सोही दिन बेलुका साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका साहले मंगलबार बेलुका हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार साह र सम्झनाबीच तीन वर्षयता प्रेम सम्बन्ध थियो । सोमबार मात्र उनीहरूबीच शारीरिक सम्बन्ध भएको थियो ।

तीन वर्षदेखिको प्रेम सम्बन्ध

प्रहरीका अनुसार मृतक सम्झना र सुरेन्द्रबीच क्वालिटी नुडल्समा काम गर्दा प्रेम सम्बन्ध सुरु भएको थियो । सम्झना भने विवाहित हुन् । २०६९ सालमा उनले वसन्त परियारसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोरी स्थानीय स्कुलमा कक्षा १० र ७ मा अध्ययनरत छन् । बसन्त भने इलाममा टेलरिङको काम गर्दै आएका छन् ।

मंगलबार बिहान सुरेन्द्रले फोन गर्दा सम्झनाले उठाएकी थिइनन् । दिउँसो सम्झनालाई खोज्दै उनी दुहबी नगरपालिका–६ कालिमन्दीर चोक पुगे । तर सम्झनाको घरमा चाबी लगाएको थियो । छिमेकीलाई सोध्दा घरमा नभएको बताएपछि उनी पुनः काममा फर्किए ।

अफिसमा रहँदा पटक–पटक सम्पर्क गरिरहे । तर सम्झनाको मोबाइल स्वीच अफ थियो । सम्पर्कविहीन भएपछि उनी खोज्न भन्दै निस्किए । खोज्ने क्रममा बाँसबारी चोकमा सम्झनालाई भेटे । घर फर्कँदै गर्दा भेट भएपछि सम्झनालाई सुरेन्द्रले मोटरसाइकलमा राखेर विराटनगरको रिङरोडतर्फ ल्याए ।

मोटरसाइकलमा बस्दा साहले सम्झनालाई फोन किन नउठाएको र कहाँ गएको भनेर सोधिरहे । तर उनले बताइनन् । बाइकमा यात्रा गरिरहेको अवस्थामा दुवैबीच भनाभन भयो ।

भनाभन गर्दै उनीहरू घटनास्थलसम्म आइपुगेका थिए । सम्झनाले बाइक रोक्न भनेपछि सुरेन्द्रले मलहनवाको बाँसघारी अगाडि मोटरसाइकल रोके । मोटरसाइकलबाट उत्रिएर भनाभन भयो । सम्झनाले सल ओडेकी थिइन् । भनाभनकै क्रममा सलले घाँटी कसे ।

सडकबाट घिसार्दै पश्चिमतर्फको नालीमा लगे । घाँटी कसेर घिसारेका कारण सम्झना छटपटाइरहिन् । तर सुरेन्द्रले भने घाँटीमा बाँधेको सल समतारे घिसार्दै बाँसघारीपछि उखुबारीमा लगे ।

सडकबाट करिब ७० मिटर घिसार्दै लगेका कारण सम्झना अतेच भएकी थिइन् । घिसारेका कारण उनले लगाएको सुरुवाल फुस्किएको थियो । तर सुरेन्द्रको रिस मरेको थिएन् । बाँसघारीबाट धारिलो चाेयाे निकालेर सम्झनाको घाटी रेटे । सुरुवाल फुकालेर शव नजिकै फालिदिए ।

सडक छेउमा महिलाको चप्पल थियो । एउटा चप्पल भने खेतबारीमा फालेर बाँसको चाेयाे साथलै लिएर सुरेन्द्र हिडे । प्रहरीका अनुसार केसलिया खोलामा पुगेर पुलबाट कर्ची खोलामा फालेर हातमुख धोए । त्यसपछि डेरा पुगेर नियमित काममा फर्किए ।

श्रीमती सम्पर्कविहीन भएको जानकारी पाएपछि वसन्त इलामबाट घर आए । बिहीबारसम्म श्रीमतीको सोधीखोजी गरे । सुरेन्द्रसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय निमुवामा जानकारी गराए ।

प्रहरीमा श्रीमती हराएको निवेदन गर्दा वसन्तले सुरेन्द्रमाथि शंका लागेको बताएका थिए । सोही दिन प्रहरीले सुरेन्द्रलाई बोलाएर केरकार गरेको थियो । तर उनले आफूसँग सम्पर्क नभएको बताए ।

शुक्रबार बिहान शव भेटिएपछि दिउँसो वसन्तले आफ्नी श्रीमती भएको सनाखत गरे । बसन्तले सनाखत गरेपछि सुरेन्द्रलाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेपछि उनले रिसले गर्दा हत्या गरेको जवाफ दिए ।

प्रहरीका अनुसार सम्झना मंगलबार दिउँसो कहाँ गएकी थिइन् भन्ने खुलेको छैन । उनले बोकेको मोबाइल पनि भेटिएको छैन् । पोष्टमार्टम रिपोर्ट र कल डिटेल रिपोर्ट आएपछि थप विषय खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

Loading...