सिचाइँ समस्याले चिन्तित जहदाका कृषकहरू

यज्ञ अधिकारी
रंगेली, २३ माघ । महँगो ब्याजमा ऋण गरेर हिउँदे बाली लगाएका मोरङ जहदा गाउँपालिका–३ भाथिगछका शिवशंकर साह हरेक दिन नहरमा पानी आए नआएको हेर्न पुग्छन ।

तर नहरमा पानि नआएपछि निराश भएर फर्कन्छन् ।

जहदाका शिवशंकर जस्तै धेरै किसानहरू सिचाइँको अभावमा चिन्तित छन् ।

उनीहरू पनि राम्रो हिउँदे बाली उत्पादनका लागि सिचाइँ गर्न दिनहुँ नहर र कुलो हेर्ने पुग्छन् तर पानी नभएपछि सबै जना निराश भएर फर्कन्छन् ।

राम्रो खेतीको लागि सिचाइँ अपरिहार्य छ । सिचाइँविना खेतीको कुनै औचित्य हुँदैन ।

राम्रो प्रतिफलको लागि सिचाइँ अनिवार्य हुन्छ ।

सिचाइँको अभावले गर्दा नै यहाँका कृषकहरूले लगानीअनुसारको प्रतिफल पाउन सकेका छैनन् ।

विराटनगर महानगरपालिकासँग जोडिएको जहदा गाउँपालिका–३ भाथिगछका किसानहरू सिचाइँका लागि वर्षौंदेखि चिन्तित हुँदै आइरहेका छन ।

बजारको समस्या नभएकोले महँगै भए पनि ऋण गरेर हिउँदे (नगदे) बाली लागाएका किसानहरू सिचाइँ अभावले भने बाली बिग्रेला भन्ने सधैँ चिन्तामा हुन्छन् ।

सुनसरी मोरङ सिचाइँ आयोजनाले समयमा नहर मर्मत नगर्दा किसानले सिचाइँ गर्न पाउँदैनन् ।

सरकारले किसानहरूका लागि सिचाइँ योजना बनाए पनि गाउँका वास्तविक किसानसम्म योजना पुग्न सकेको छैन ।

यहाँका अधिकांश किसानहरू मकै, करेसाबारी, उखु, धान, गहुँ खेतीको भरमा जीवन चलाउदै आएका छन् ।

यसपालि विभिन्न हिउँदे बाली लगाएका उनीहरू सिचाइँ नहुँदा लगानी नउठ्ने चिन्तामा छन् ।

कृषि जीविकोपार्जनको मुख्य पेशा बनाएका स्थानीयले सिचाइँ अभावकै कारण चाहेजस्तो उत्पादन लिन नसकेको कृषक बुलन्दीदेवी साह बताउँछिन् ।

महँगो ब्याजमा ऋण लिएर उनले खुर्सानी, तरकारी र मकै खेती लगाएकी छन् ।

सिचाइँ अभावमा बाली नसप्रिँदा ऋण कसरी तिर्ने भन्दै चिन्तित बनिन् ।

उनले मल, बिउ, सिचाइँ, बाली बीमा र सस्तो ब्याजको ऋण वास्तविक कृषकसम्म सरकारले पुर्‍याउन नसकेको बताइन् ।

जहदा गाउँपालिका–३ मा ५ हजार ६० हेक्टर जमिनमा सिचाइँको सुविधा रहेको थियो ।

किसानको सिचाइँ समस्यालाई स्थानीयस्तरमै समाधान खोजिने भएको छ ।

आगामी आर्थिक वर्षमा वडाकै बजेटबाट नहर मर्मत, जुडी खोलामा बाँध र बोरिङको व्यवस्था मिलाउने जहदा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिलकुमार ठाकुरले बताए ।

किसानको सिचाइँ समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

Loading...