Rumpum

Rumpum Advertisement

कृषिबाट समृद्धि खोज्न खोटेहाङ गाउँपालिका लगानी गर्दै

कृषिबाट समृद्धि खोज्न खोटेहाङ गाउँपालिका लगानी गर्दै

खोटाङ, २६ माघ । खोटेहाङ गाउँपालिकाले उत्पादनमूलक कृषि क्षेत्रमा लगानी गर्न थालेको छ । कृषिमा आत्मनिर्भर बनाउँदै कृषिबाटै समृद्धि खोज्ने उद्देश्यले खोटेहाङ गाउँपालिकाले कृषि क्षेत्रमा लगानी गर्न थालेको हो ।

योजनाअनुसार हरेक वडालाई एक÷एक वटा कृषि उपजको पकेटक्षेत्र बनाउनेगरी उत्पादनलाई पहिलो प्राथमिकता दिइएको गाउँपालिका प्रमुख प्रदीप राईले बताए ।

उनका अनुसार गाउँपालिका तीन वर्षसम्म भौतिक पूर्वाधार निर्माणको काम गरेकोले अब भने उत्पादनमूलक क्षेत्रमा लगानी गर्न थालेको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकालाई अन्न, मासु, फलफूल तथा नगदेबाली, तरकारीलगायत दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर बनाउन हरेक वडामा कृषक समूह गठन गरिएको छ ।

गाउँपालिकाद्वारा गठित समूहलाई आवश्यक अनुदान, तालिम तथा बिउविजन र प्राविधिक सहयोग गाउँपालिकाको तर्फबाट उपलब्ध गराउने गरिएको वडा नम्बर–२ का वाप्लुखाका वडाध्यक्ष एवम् गाउँपालिकास्तरीय कृषि तथा पशु विकास समितिका संयोजक दीपेन राईले बताए ।

गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन वडा नम्बर–७ खोटाङबजार र वडा नम्बर–९ लिच्कीराम्चेमा बाख्रा पैँचो, समूहलाई बाख्रा खोर निर्माणका लागि अनुदान तथा बोयर जातको बोका वितरण गरिएको छ ।

समूहलाई ५० प्रतिशत लागत सहभागितामा रु ९०/९० हजार अनुदान तथा प्राविधिक सहयोग गर्ने गरिएको छ ।

कागती पकेट क्षेत्रका रूपमा पाँच वटा वडालाई विकास गर्ने योजनाका साथ कार्यक्रम सुरु गरेको गाउँपालिकाले सिम्पानी, इन्द्रेणीपोखरी, बडकादियाले, खोटाङबजार र लिकुवापोखरीमा लगानी गरेको छ ।

कृषिबालीका लागि हरेक वडाका खेतीयोग्य जमिनको माटोसमेत परीक्षण गरेर विभिन्न कृषिबालीको पकेट क्षेत्र बनाएको उक्त गाउँपालिकाले अलैँचीका लागि वाप्लुखा, सावाकटहरे र चिप्रिङलाई कार्यक्रम दिएको छ ।

आलुका लागि वाप्लुखा र चिप्रिङको माथिल्लो भेगलाई पकेट क्षेत्रको रूपमा विकास गरिएको कृषि शाखाले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत वाप्लुखाको माथिल्लो क्षेत्रमा गत वर्ष रु ३५ लाख बजेट आलु ब्लकका लागि परेको थियो ।

अघिल्लो आर्थिक वर्षबाटै कृषिमा लगानी सुरु गरेको गाउँपालिकाले बङ्गुरपालन, कुखुरापालन र बाख्रापालनका लागि हरेक वडामा ११ देखि २१ जनासम्म स्थानीय कृषक समावेस गरेर समूह निर्माण गरेको छ ।

उक्त कार्यक्रमका लागि नेपाल सरकारले लागू गरेको ‘एक गाउँ, एक प्राविधिक’ अन्तर्गतका कर्मचारीले हरेक समूहमा पुगेर सहजीकरण गरिरहेका छन् ।

यस आर्थिक वर्ष नौँ वटा वडामा ९० माउबाख्रा, ११ वटा बोयर जातको बोका वितरण गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले थालनी गरेको उत्पादनशील क्षेत्रमा लगानी गर्ने योजनाको सुरुवआती चरणमै राम्रो प्रतिफल देखिएको गाउँपालिका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक कविता राईले बताइन् ।

कृषि क्षेत्रको विकासका लागि गत आर्थिक वर्ष गाउँपालिकाको रु ७० लाख, प्रयास/हेल्भेटासको रु ४४ लाख र सशर्त अनुदानवापतको रु २१ लाखगरि रु एक करोड ३५ लाख लगानी रहेको छ ।