एजेन्सी, २५ माघ । स्पेनिस क्लब बार्सिलोनाले कोपाअन्तर्गत एथ्लेटिक बिल्बाओविरुद्धको खेलमा रेफ्रीद्वारा पीडित महसूस गरेको बताइएको छ ।

चर्चित खेल मिडिया ‘ईएसपीएन’का अनुसार बिल्बाओविरुद्ध हार ब्यहोरेको बार्सिलोनाले खेलका रेफ्रीद्वारा पीडित महसूस गरेको हो ।
बिहीबार भएको कोपा डेल रेको क्वार्टरफाइनल खेलमा बार्सिलोनाले बिल्बाओसँग १–० गोलले पराजय ब्यहोरेको थियो ।
बिल्बाओकै मैदानमा भएको खेलमा हारेसँगे बार्सिलोना १० वर्षयता पहिलोपटक कोपाको क्वार्टरफाइनलबाट बाहिरियो ।
उक्त खेलमा बार्सिलोनाका खेलाडीको अपिलको वावजुत पनि रेफ्रीले पेनाल्टी नदिएको भन्दै बार्सिलोनाले रेफ्रीसँग दुःख ब्यक्त गरेको हो ।
६४औं मिनेटमा बिल्बाओका खेलाडीले बार्सिलोनाका खेलाडी फ्रेन्की डी योङलाई डी एरियामा लडाएका थिए ।
त्यसपछि बार्सिलोनाका खेलाडीले रेफ्री गोन्जालेज फिउर्टेजसँग पेनाल्टीको अपिल गरेका थिए ।
तर, रेफ्रीले उनीहरूको अपिल अस्वीकार गर्दै खेल अगाडि बढाएका थिए ।
यसै विषयलाई लिएर बार्सिलोनाले रेफ्रीद्वारा पीडित महसूस गरेको बार्सिलोनाकै एक स्रोतलाई उदृत गर्दै ईएसपीएनले जनाएको छ ।
खबरका अनुसार बार्सिलोनाका खेलाडीले पेनाल्टी नपाएपनि ‘भीएआर’को प्रयोग भएको हेर्न चाहन्थे ।
रेफ्रीले त्यहाँ निर्णायकको भूमिका कम निर्वाह गरेको बार्सिलोनाका खेलाडीले दाबी गरेको ईएसपीएनले जनाएको छ ।