पत्रकारितामा टिकिरहन विवाह नगर्ने निर्णय गरेँ : ललिता भट्टराई

२०२४ सालमा ताप्लेजुङ्गको ढुङ्गेसाँघु तेत्लाबुङ्गमा जन्मिएकी ललिता भट्टराई अध्ययनका लागि विराटनगर आएकी थिइन् । नेपाली विषयमा स्नाकोत्तर तहको अध्ययन पूरा गरेपछि पत्रकारितामा छिरेकी उनी ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छिन् । २०६१ सालदेखि आफ्नै सम्पादनमा उनले फेवा साप्ताहिक पत्रिका प्रकाशन गरिरहेकी छन् । सम्पादक प्रकाशक संघकी उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेकी ललिता कोशीअनलाइनसँग पत्रकारिता र पत्रकार महिलाहरूका अवस्था यसरी बताउँछिन्‘।

पत्रकारिता क्षेत्रमा लाग्नुभएको कति भयो ?

तीन दशक भयो । फेवा साप्ताहिक पत्रिकामा सम्पादक भएर काम गरेको चाँहि १५ वर्ष भयो ।
तपाईंले शुरु गर्दा पत्रकारिता क्षेत्रको वातावरण कस्तो थियो ?

सुरुआती दिनमा महिला पत्रकारहरूको संख्या एकदमै कम थियो । हातको औंलामा गन्न सकिन्थ्यो । पत्रकारितामा पुरुषको ठूलो जमात भएपनि म सबै मेरा दाजुभाइहरू हुन् भनेर सोच्थेँ र उनीहरूमाझ जान्थेँ । पत्रकारिता पेशा आफैँमा मर्यादित भएकोले त्योबेला सम्मान पनि थियो ।

पत्रकारिता क्षेत्रमा महिलाको संख्या कम भएकोले महिलाहरूलाई अगाडि ल्याउन कार्यक्रमहरू पनि हुने गर्थ्यो ।अरु महिला पत्रकार मित्रहरूलाई यसै क्षेत्रलाई कर्मथलो बनाउन गाह्रो भयो । तर मेरो पारिवारीक पृष्ठभूमी पत्रकारितामय भएकाले ममा पत्रकारिताप्रति विशेष किसिमको लगाव थियो ।

त्यहीँ लगावलाई निरन्तरता दिँदै यसक्षेत्रलाई कर्मथलो बनाउन मलाई सजह भयो । मेरो दाजु आफैं पनि सम्पादक भएकोले सबै कुरामा मलाई सहज नै भयो र परिवारले पनि मेरो पत्रकारिता मोहलाई आदर गर्‍यो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ विशेष के प्राप्त भयो ?

सबैले देख्नेगरी ठोस कुरा त केही पाएको छैन । तर यो क्षेत्रले बाटोमा हिँड्दा मलाई देखेर सम्मानसहित नमस्कार गर्ने मानिसहरू पाएकी छु । यो नै मैले यस क्षेत्रमा दिएको योगदानवापत पाएको सबैभन्दा ठूलो कुरा हो जस्तो लाग्छ ।

तपाईंको विचारमा पत्रकारिता के हो जस्तो लाग्छ ?

पत्रकारिता समाजको ऐना हो । ऐनारूपी पत्रकारिताले समाजका कुराहरू टिपेर, सत्यतथ्य छानबिन गरेर पुनः समाजलाई नै दिने काम गर्छ ।

पत्रकारिताको क्षेत्रमा तपाईंले भेदभाव भोग्नुभयो कि भएन ?

हाम्रो समाज पुरुषप्रधान हो । महिला र पुरुषबीच भेदभाव नहुने त कुरै भएन । म समाजका लागि एउटी महिला मात्र थिए होला तर मैले आफूलाई कहिल्यै पनि महिला र पुरुषको नजरले हेरिनँ । जसरी महिलालाई समाजले कमजोर चित्रण गर्छ, त्यसलाई मैले सत्यतामा बदल्न दिइनँ । हिजोको दिनमा पनि मैले लैंगिक भेदभावको असर आफूमा पर्न दिइनँ र आजसम्म पर्नदिएकी छैन अनि भोलिका दिनमा पनि पर्नदिने छैन ।

महिलाहरूलाई पत्रकारितामा टिकिरहन कतिको गाह्रो छ ?

यो क्षेत्रमा मात्रै हैन जुनसुकै क्षेत्रमा पनि मानिसलाई टिकिरहन गाह्रै पर्छ । विशेषगरी वैवाहिक जीवनपछि महिलालाई आफू कार्यरत क्षेत्रमा टिकिरहन अझ बढी गाह्रो हुन्छ । हुनतः आजभोलि विवाहपछि महिलाहरू आफ्नो कार्यक्षेत्रमा सहज रूपमा फर्किन थाल्नु भएको छ, यस्तो किसिमको अभ्यास सबै वर्गको मानिसहरूले गर्नसके महिलाहरूलाई जुनसुकै क्षेत्रमा पनि टिक्न सजिलो हुनेछ ।

मैले एमएपछि विवाह गर्छु भनेर सोचकी थिएँ । तर, विवाहपछि यसै क्षेत्रमा निरन्तरता दिन नसकिएला जस्तो लाग्यो र पत्रकारिताकै लागि विवाह नगर्ने निर्णय गरेँ ।

विवाहअघि जसरी निरन्तरता दिइरहेकी थिएँ त्यसरी नै विवाहपछि दिन नसकिएला भनेर नै मैले विवाह नगर्ने निर्णय लिएकी हुँ । मसँगैको समकालीन महिला पत्रकारहरू विवाहपछि घरगृहस्थीमै व्यस्त भए ।

तपाईंलाई कहिल्यै वैवाहिक जीवनमा बाँधिऊँ जस्तो लागेन ?

पत्रकारिता एउटा नशा रहेछ । मैले एमएपछि विवाह गर्छु भनेर सोचको थिएँ । तर, विवाहपछि यसै क्षेत्रमा निरन्तरता दिन नसकिएला जस्तो लाग्यो र पत्रकारिताकै लागि विवाह नगर्ने निर्णय गरें ।

आजकल विवाह नगर्ने निर्णय गरेर गलत गरेछु भन्ने लाग्दैन ?

पटक्कै लाग्दैन । मैले मेरो रुचिअनुसारको पेशाप्रति न्याय गरे भनेर बरु गर्व लाग्छ । तर एकल जीवन बल हुन्जेल सहज भएपनि उमेर ढल्कँदै गएपछि चाहिँ गाह्रो हुँदोरहेछ । कहिलेकाँकी जीवनसाथी भैदिएको भए जीवन अलि सहज हुनेथियो कि भन्नेचाहिँ लाग्छ ।

तपाईंले सार्वजनिक कार्यक्रमै अब म बिहे गर्न तैयार छु भनेर घोषणा पनि गर्नुभएछ तर किन बिहे नगर्नुभएको ?

हो मैले एकल जीवनलाई सहज बनाउनका लागि चार वर्षअघि पत्रकारकै कार्यक्रममा म बिहे गर्न तैयार छु भनेर घोषणा गरेकी हुँ । तर खै कोही मसँग बिहे गर्न नै आएनन् । सायद रूपलाई अंगाल्ने मनहरूले मलाई उमेर गएकी महिला देखे होलान् । तर मैले रूपका लागि हैन सहयोगी सौन्दर्यशाली साथीका लागि बिहे गर्न चाहेको हो ।

हाम्रो देशमा अहिले भइरहेको पत्रकारितालाई कसरी बुभिरहनुभएको छ ?

पहिले पत्रकारिता क्षेत्रमा स्वतन्त्रता थिएन । अहिले स्वतन्त्रता भएर होला धेरै दुरुपयोग भइरहेको छ ।

पत्रकारिता पेशाबाट दिक्दारी लागेन कहिल्यै ?

पत्रकारिताकै लागि संघर्ष त धेरै गरियो । देश, काल, परिवेशअनुसार संर्घष गरियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि आन्दोलन गरेर हिँडियो । मैले पत्रकारितालाई नै मेरो मुख्य र आदर्श पेशा हो भन्ने बुझ्थेँ । यसैले पनि होला मलाई पत्रकारिता पेशा छोड्दिउँ भन्ने विचार कहिल्यै आएन ।

फुर्सदमा के गर्नुहुन्छ ?

फुर्सदमा पनि कसरी मेरो पत्रिकालाई राम्रो बनाउने भन्ने कुरामा नै समय दिइरहेको हुन्छु ।

किताबहरू कतिको पढ्नुहुन्छ ?

किताब पढ्न रुचाउँछु तर अहिले त्यति समय पाएँकी छैन ।

गीत–सङगीत कतिको सुन्नु हुन्छ कस्तो मनपर्छ ?

म विशेषगरि लोकगीतहरू सुन्ने गर्छु ।

मनपर्ने गायक/गायिका ?

मलाई गायकमा नारायण गोपाल र गायिकामा तारादेवी मनपर्छ ।

सामाजिक सञ्जालमा कतिको सक्रिय हुनुहुन्छ ?

सामाजिक सञ्जालमा त्यति सक्रिय छैन ।

आफ्नो बाल्यकालदेखिको स्वभावलाई दाँजेर सम्झनुपर्दा ?

साँच्चै भन्ने हो भने म ११ वर्षको उमेरदेखि आफ्नै हिसाबले बालश्रमिक झैं काम गर्न थालेकी थिएँ । बच्चा बेलाबाट नै स्वावलम्बि हुनुपर्छ भन्ने मेरो मान्यता थियो । आफैंले केही गर्नुपर्छ, आफ्नो खुट्टामा आफैं उभिन सक्ने हुनुपर्छ भन्ने सोच भएको मान्छे थिए । धेरै पढ्नुपर्छ भन्ने लाग्थ्यो र पढेँ पनि ।

बबिता लिम्बू (प्रशिक्षार्थी पत्रकार )
Loading...