पत्रपत्रिकामा प्रदेश : पूर्व राजाको चियाबगानले दिएन ज्याला, हराएको चार दिनपछि उखुबारीमा शव

विराटनगर,२५ माघ । पूर्व राजा ज्ञानेन्द्र साहको पूर्ण स्वामित्वमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनले श्रमिकलाई ज्याला दिएकाे छैन् ।

गार्डेनले पछिल्लो दुई महिनायता श्रमिकलाई ज्याला नदिएको हो । प्रत्येक हप्ता ज्याला पाउँदै आएका श्रमिकले आठ हप्तायता ज्याला नपाएको गुनासो गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

विस २०१८ सालमा स्थापना भएको चियाबगान हिमालय टि गार्डेन एण्ड फर्मिङको नाममा तलेको थियो । हाल हिमालय–महालक्ष्मी टी गार्डेन नाम राखिएको चियाबगानमा ३ सय ५० मजदुर कार्यरत छन् ।

चार दिनदेखि बेपत्ता भएकी महिलाको शव उखुबारीमा भेटिएको छ । हत्या गरी फालिएको अवस्थामा विराटनगर– १२ रिङरोड नजिकै रहेको उखुबारीमा फेला परेको खबर प्रदेश १ बाट प्रकाशित हुने पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

हत्या आरोप लागेका वडा अध्यक्ष कारागार चलान भएका छन् । विराटनगर– १४ का समानन्द यादवको हत्यामा संलग्न भएको आरोपमा जहदा गाउँपालिका १ का अध्यक्ष प्रदिपचन्द्र यादवलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

हत्या प्रकरणमा जोडिएका विराटनगरका २ अध्यक्षसहित सातजना अझै फरार छन् । प्रदिपचन्द्र भने शुक्रबार आफै अदालतमा उपस्थीत भएकाे खबर उद्घाेष दैनिकमा छ ।

पुष्पलाल मध्य पहाडी लोकमार्ग योजनाको तमोर करिडोर सडकलाई छोटो दुरीमा तराई जोड्नका लागि काम तिब्र बनाइएको छ । पाँचथर तेह्रथुम, ताप्लेजुङ र धनकुटालाई छोटो दुरीमा तराईसँग जोड्ने सडकको निर्माण कार्य तिब्र बनाईएको आजको ब्लाष्ट दैनिकमा समाचार छ ।

Loading...