Rumpum

Rumpum Advertisement

गण्डकीलाई हराउँदै पाँच नम्बर प्रदेशले जित्यो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

गण्डकीलाई हराउँदै पाँच नम्बर प्रदेशले जित्यो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

विराटनगर, २४ माघ । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि पाँच नम्बर प्रदेशले जितेको छ ।

शुक्रबार विराटनगरमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पेनाल्टी सुटआउटमा हराउँदै पाँच नम्बर प्रदेशले उपाधि जितेको हो ।

खेलको ३७ औ मिनेटमा गण्डकी प्रदेशका पिताम्बर थापाले गोल गर्दै टोलीलाई जिततर्फ डोर्याए पनि अन्तिम मिनेट सम्हालिन नसक्दा टोलीले हार भोग्नुपरेको हो ।

पाँच नम्बर प्रदेशका लागि कप्तान शशी दर्लामीले खेलको ५९ औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

विराटनगरस्थित शहीद रंगशालामा भएको उपाधि भिडन्तमा निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो । जसमा, पाँच नम्बर प्रदेशले गण्डकी प्रदेशलाई पेनाल्टीमा ५–३ गोलान्तरले हरायो ।

गण्डकीका सागर आचार्य पेनाल्टीमा चुक्दा पाँच नम्बर प्रदेशले उपाधि जितेको हो ।

पेनाल्टीमा पाँच नम्बर प्रदेशका सानु लामा, मनिष गुरुङ, रोहित लामा, रिसु कुमार र कप्तान शशी दर्लामीले गोल गरे ।

यता, गण्डकीका गणेश सिंह ठगुन्ना, श्रवण कुमार र सुमितकुमार कामीले गोल गरे । सबैभन्दा पहिले पेनाल्टि प्रहार गरेका सागरको गोल पोलमा ठोक्किएर बाहिरिएपछि गण्डकी प्रदेश उपविजेतामै सीमित बन्यो ।

यस्तै तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले हराउँदै तेस्रो बन्यो ।

आर्मीको जितमा रोमन राणाले ह्याट्रिकसहित चार गोल गरे भने नरेन्द्र र राम शाहले समान एक–एक गोल गरे ।

उपाधि जित्दै ५ नं प्रदेशले ट्रफिसहित पचास हजार नगद पुरस्कार प्राप्त गर्यो भने डिफेन्डिङ्ग च्याम्पियन समेत रहेको गण्डकी प्रदेश उपविजेता मै सिमित रहँदै २५ हजार नगद पुरस्कारमा चित्त बुझाउँदै घर फर्कियो ।

प्रतियोगीता भरी नै १२ गोल गरेका विभागीय टोली नेपाल आर्मीका रोमन राना सर्वाधिक गोलकर्ता चुनिए । उत्कृष्ट गोलरक्षकको उपाधि ५ नं प्रदेशका कार्तिक गुरुङले जित्दा प्रतियोगीता भरीकै उदीयमान खेलाडी गण्डकी प्रदेशका पिताम्बर थापा घोषित भए ।

आफ्नो खेल कौशलका कारण सबैको प्रशंसा बटुलेका गण्डकी प्रदेशका सुमितकुमार कामी प्रतियोगीता कै सर्वश्रेष्ठ खेलाडी चुनिए । व्यक्तिगत उपाधि जित्ने सबै खेलाडीहरुले जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।