सुरक्षाको विपन्नलाई निःशुल्क युनिट

विराटगनर, २४ माघ । प्रसूति र बाल स्वस्थ्यमा सेवा दिइरहेको सुरक्षा अस्पतालले विपन्न बिरामीका लागि छुट्टै निःशुल्क युनिट सुरु गरेको छ ।

अस्पतालले बिरामीलाई दिनुपर्ने निःशुल्क विपन्न १० प्रतिशत सेवाअन्तर्गत बेडसहितको युनिट सञ्चालनमा ल्याएको हो ।

सुरक्षा अस्पतालकी प्रमुख डाक्टर रम्भा देवले ५० बेडको अस्पताल भएकोले विपन्न बिरामीको लागि ५ वटा बेडसहितको युनिट सञ्चालनमा ल्याएको जानकारी दिइन् ।

उनले उक्त सेवा लिनको लागि बिरामी विपन्न हुनुपर्ने सथै सिफारिस पनि अनिवार्य हुनुपर्ने बताइन् ।

‘हुने खाने परिवारबाट निःशुल्क १० प्रतिशत सेवाको लागि बढी फोन आउँछ,’ उनले भनिन्, ‘विपन्न भएको स्थानीय तहको सिफारिसपछि सेवा उपलब्ध गराउनेगरी अलग्गै युनिट सञ्चालनमा ल्याएका हौँ ।’

अस्पतालले प्रसूति र बाल रोगको सेवासँगै अन्य सबै प्रकारकार सेवा उपलब्ध गराइरहेको डा. देवले बताइन् ।

उनले सरकारी स्वास्थ्य बीमा कार्यक्रमको सेवा अस्पतालबाट पनि सुरु गर्ने बताइन् । दुखाइरहित प्रसूति सेवामा आकर्षण बढिरहेको उनले जानकारी दिइन् ।

Loading...