Rumpum

Rumpum Advertisement

फ्राइडे रिलिज : विपिनको ‘सेल्फी किङ’ र विराजको ‘साङ्लो’ हलमा

फ्राइडे रिलिज : विपिनको ‘सेल्फी किङ’ र विराजको ‘साङ्लो’ हलमा

विराटनगर, २४ माघ । फ्राइडे रिलिजअन्तर्गत आजबाट दुई वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।

लामो समय सुनसान रहेको नेपाली चलचित्रको बजारमा केही रौनक थप्दै आश गरिएका फिल्मद्वय ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘सेल्फी किङ’मा भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको छ ।

चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको देखाइएको छ ।

काठमाडौँदेखि सोलुखुम्बुसम्म गरेको यात्रा र त्यस बेलामा आउने विभिन्न अवस्थाहरूको कथालाई फिल्ममा उतारिएको छ ।

विशाल सापकोटाको निर्देशनमा तयार भएको फिल्ममा विपिनका साथ लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मलाई दिनेश राउत र सुभाष थापाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

यसैगरी आजैबाट चर्चित अभिनेता विराज भट्टको अभिनय तथा निर्देशन र पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनयमा डेब्यु रहेको फिल्म ‘साङ्लो’ पनि प्रदर्शनमा आएको छ ।

किड्नी तस्करीको कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा विराज र निकिताले एक अर्काको श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा उनीहरू प्रेमी, प्रेमिका हुँदै श्रीमान्–श्रीमति बनेको देखाइएको छ ।

फिल्ममा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलागयतको कलाकारहरूको अभिनय छ ।

मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बूले संगीत भरेका छन् ।

फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।