शरदले त्रिकोणात्मक सिरिज गुमाउने, सुवासलाई मौका

काठमाडौं, २३ माघ । आईसीसी विश्वकप क्रिकेट लिग दुईअगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई झट्का लागेको छ ।

नेपाली ब्याट्सम्यान शरद भेषवाकरले त्रिकोणात्मक सिरिज गुमाउने पक्का भएपछि नेपाललाई झट्का लागेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्र्तगत नेपालले शनिबार अमेरिकासँग खेल्दैछ ।

पहिलो खेलमा ओमानसँग हारेको नेपाल आगामी खेलमा दबाबमा छ ।

तर, यसै दबाबका बीच शरदले पूरा सिरिज नै गुमाउने छन् ।

बुधबार भएको ओमानविरुद्धको खेलमा पनि उनले असहज महसुस गरेका थिए ।

आफ्ना दाजुको काजकीरियामा बसेका कारण उनी त्यति फिट थिएनन् ।

आफ्ना दाजु महेन्द्र भेषवाकरको निधन भएपछि काजकीरियामा बसेका उनको कम्मरमुनिको भागमा समस्या देखिएको थियो ।

फेरि चिकित्सकले पनि एमआरआई गरेपछि १० दिन आराम गर्न सल्लाह दिएका थिए ।

त्यैपनि उनले राम्रो प्रदर्शन गरे । अर्धशतक रन बनाए पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

अब उनले अमेरिकाविरुद्ध नखेलेमा उनको ठाउँमा सुवास खकुरेलले मौका पाउने सम्भावना छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले शरदले अब १० दिन आराम गर्नुपर्ने भएकाले सिरिज गुमाउने पक्का भएको बताए ।

यसैगरी चन्दले शरदको स्थानमा सुवासलाई टिममा राख्नको लागि आईसीसीलाई पत्र पठाएको जानकारी दिए ।

Loading...