कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

बागलुङ, २४ माघ । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

मासु व्यवसायी संघ बागलुङका अनुसार एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको छ ।

संघका अध्यक्ष कृष्ण कार्कीका अनुसार हाल कुखुराको मासुको मूल्य ४ सय ४० प्रतिकिलो पुगेको छ ।

जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको कार्कीले जानकारी दिए ।

माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको सुरुमा रु ३८० र रु ४०० प्रतिकेजी हुँदै अहिले ४ सय ४० रुपैयाँ पुगेको हो ।

कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् ।

कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउँदो कुखुरालाई रु ३०० मा खरिद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए ।

जिउँदो कुखुरालाई रु ३०० मा खरीद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उनले जानकारी दिए ।

त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ ।

रु ९०० प्रतिकेजी खसी/बोकाको मूल्य माघ १९ गते देखि ९५० पुगेको हो ।

अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी संघले जनाएको छ ।

Loading...