पत्रपत्रिकामा प्रदेश : अस्पतालको जग्गामा हालिमुहाली

विराटनगर, २४ माघ । कोशी अस्पताल विराटनगरको जग्गामा अरुको हालिमुहाली रहेको समाचार उद्घोष दैनिकमा छ ।

आम्दामी गरेर कर्मचारीलाई तलब खुवाउन हम्मे हम्मे हुने अस्पतालको जमिनबाट भने तीनवटा संस्थाले वर्षमा करोडौँ जति रकम असुली गरिरहेका छन् ।

अस्पतालका लागि अतिआवश्कयक भवन निर्माण गर्ने क्रममा जग्गा खोजी गर्ने क्रममा संस्थाले निजी आम्दामी गरिरहेको फेला परेको हो ।

अस्पतालका कर्मचारी नवराज लुइटेलले नेपाल क्षयरोग निवारण संस्था, रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले अस्पतालको जमिन भाडामा लगाएर लकम लिँदै आएको बताए ।

अस्पतालको नाममा रहेको ५ बिघा ८ कठ्ठा जमिनभित्र यी संरचना छन् ।

प्रदेश १ संसदको हिउँदे अधिवेशनबाटै प्रदेशको नामाकरण हुने समाचारलाई प्रदेश १ बाट प्रकाशन हुने पत्रिकाले प्रमुखताका साथ छापेका छन् ।

प्रदेशसभाको बैठक बिहीबारबाट सुरु भएको छ । ‘हिउँदे अधिवेशनबाटै प्रदेशको नामाकारण : मुख्यमन्त्री’ शीर्षकमा ब्लाष्ट टाइम्समा मुख्य खबर छ ।

यस्तै उद्घोष दैनिकले ध्यान प्रदेशको नामाकरण शीर्षकमा समाचार छापेको छ ।

प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशन बिहीबारदेखि सुरु भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र पढेर प्रदेशसभा बैठक सुरु भएको हो ।

पहिलो दिनको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेता तथा उपनेताले प्रदेशको नामको विषयलाई उठाएका छन् ।

सत्तारुढ नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण सहमतिमै टुंग्याउने बताए ।

अरुण तीनको लागि लगानी जुटेको खबर उद्घोष दैनिकमा छ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेश्रो जलविद्युत आयोजनाको लागि लगानी जुटेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेपाली बैंकले १५ अर्ब र भारतीय बैंकले ८५ अर्ब लगानी गर्ने भएका छन् ।

सतलजका कार्यकारी अधिकृत अरुण धिमानका अनुसार एभरेष्ट र नबिल बैंकले १५ अर्ब ३६ करोड लगानी गर्ने भएका हुन् ।

हुलाकी मार्गले जगायो आशा शीर्षकमा नागरिक पूर्वेलीमा खबर छ ।

झापाको पुरानो बजार गौरीगञ्जमा हुलाकी मार्ग निर्माणले आशा जगाएको हो ।

सडकसँगै अन्य पूर्वाधार विकास हुने अपेक्षा स्थानीयको छ ।

सरकारले हुलाकी मार्गमा बन्ने नमूना सहरमा गौरिगञ्जलाई पनि समावेश गरेपछि स्थानीयमा उत्साह थपिएको छ ।

Loading...