राष्ट्रीय हक्की : उपाधिका लागि गण्डकी र ५ नम्बर प्रदेश भिड्ने

विराटनगर, २३ माघ । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि ५ नम्बर प्रदेश र गण्डकी प्रदेश भिड्ने भएका छन् । विराटनगरमा जारी प्रतियोगिताको उपाधिका लागि ५ नम्बर प्रदेश र गण्डकी भिड्ने भएका हुन् ।

बिहीबार भएको सेमीफाइनल खेलमा विभागीय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै ५ नम्बर प्रदेश फाइनलमा प्रवेश गर्दा सुदुरपश्चिम प्रदेशलाई ५–० ले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा स्थान पक्का गर्याे ।

आर्मी र प्रदेश ५ बीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । टाइब्रेरमा प्रदेश ५ का सानु लामा, मनिष गुरुङ, रोहित लामा र शशी डरलामीले गोल गरे । मो.सिद्धिकको बललाई गोलरक्षकले बचाउ गरेका थिए ।

आर्मीका प्रदीप राजवंशी, देवसिंह धामी र रोशन चौधरीले लोग गरे । रोमन राना र दीपेन्द्र ऐरको बल गोलरक्षकले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ द म्याच प्रदेश ५ का कार्तिक गुरुङ भए ।

सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशबीचको खेलको १३ औं मिनेटमा पिताम्बार थापाले गण्डकी प्रदेशलाई अग्रता दिलाए । खेलको २२, ३१ र ५२ औं मिनेटमा सुमितकुमार कामीले गोल गरे भने ४३ औं मिनेटमा राजन नेपाली गोल गरेका थिए । म्यान अफ द म्याच गण्डकीका गणेश ठकुना भए ।

शुक्रबार तेस्रो स्थानका लागि नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच हुनेछ भने उपाधि जितका लागि गण्डकी प्रदेश र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् ।

Loading...