कोरोनाको कारण बेहुलाबेहुली बिनै विवाह सम्पन्न

विराटनगर(एजेन्सी), २३ माघ । चीनमा फैलिएको घातक कोरोना भाइरसको कारण डराएर पाहुन नआउने भएपछि बेहुला बेहुलीको उपस्थिति बेगर नै सिंगापुरमा विवाह भएको छ ।

पाहुनाले भरीभराउ होटलमा बेहुला बेहुली भने आउन पाएनन् । केही दिन अघि भएको सो विवाहका बेहुला र बेहुली चीनबाट फर्किएका थिए ।

उनीहरु चीनबाट आएको थाहा पाएपछि निम्तालुहरुले आउन नमान्दा बेहुला बेहुलीको उपस्थिति बेगर नै विवाह भएको हो ।

जोसेफ यु र कांग टिंगले विवाहको नयाँ तरिका अपनाए । उनीहरुले विवाह समारोह भन्दा टाढै रहेर लाइभ स्ट्रिमिङ मार्फत होटलमा भएका निम्तालुहरुलाई सम्बोधन गरे ।

यता होटलमा भेला भएका आफन्त र निम्तालुहरुले उनीहरुलाई भिडियो कन्फ्रेन्सबाटै बधाई दिए ।

बेहुली कांग टिंगको घर चीनको हुनान प्रान्तमा छ । लूनर नयाँ वर्ष मनाउन जोसेफ र कांग २४ जनबरीमा चीन आएका थिए ।

३० जनबरीको लागि विवाहको तय गरी सिंगापुरमा एम होटलसमेत बुकिङ गरिएको थियो । पारम्परिक रुपमा भने गएको वर्ष उनीहरुले चीनमा विवाह गरेका थिए ।

तर आफन्त र साथीहरु उपस्थित हुन नपाएपछि उनीहरुले सिंगापुरमा फेरी विवाह गर्न लागेका थिए ।

पहिले नै निर्धारण गरिएको कारण होटल बुकिङ रद्द गर्न नमिलेको र सबै व्यवस्थापन गरिएको हुँदा विवाह समारोह रोक्न नसकेको दुल्हा जोसेफले बताए ।

भाइरसको कारण प्रतिबन्ध लागेपछि कांगका आमाबुबा भने विवाह समारोहमा सहभागी हुन पाएनन् ।

Loading...