‘मेस्सीले क्लब छोडेमा बार्सिलोना रोनाल्डोविनाको रियल मड्रिडजस्तै हुन्छ’

एजेन्सी, २३ माघ । इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले लियोनल मेस्सी बार्सिलोनाबाट बिदा भएमा बार्सिलोनाको हालत रोनाल्डोविनाको रियल मड्रिडको जस्तै हुने बताएका छन् ।

उनले हालै दिएको एक अन्तर्वार्ताका क्रममा मेस्सीले क्याप नोउ छाडेमा बार्सिलोनाको हालत क्रिस्टियानो रोनाल्डोविनाको रियलझैं हुने बताएका हुन् ।

रोनाल्डोले रियल छोड्दा सान्टियागो बर्नाबेऊले ठूलो संघर्ष गरेको बताउँदै उनले मेस्सीविनाको बार्सिलोनाको पनि हालत त्यस्तै हुने बताए ।

३२ वर्षीय मेस्सीलाई भित्र्याउन ग्वार्डीओलाको टोली सिटीले सोच बनाएको बताइन्छ ।

बार्सिलोनाको आन्तरिक ‘मनमुटाव’का बीच सिटीले मेस्सीलाई भित्र्याउन पुनः प्रयास गरेको ‘ईएसपीएन’को एक रिपोर्टले जनाएको छ ।

पछिल्लो समय क्लबका खेल निर्देशक एरिब अबिडाल र मेस्सीबीचमा मनमुटाव चलिरहेको छ । अबिडालले दिएको अन्तर्वार्ताप्रति मेस्सीले आलोचना गरेका छन् ।

अबिडालले अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा बार्सिलोनाका खेलाडीले कडा मेहनत नगरेको भनेपछि मेस्सीले आपत्ति जनाए ।

मेस्सी अन्तर्वार्ताको आलोचना गर्दै कुन खेलाडीले मेहेनत नगरेको हो प्रष्ट पार्न आग्रह गरे ।

मेहेनत नगर्ने खेलाडीको नाम नै सार्वजनिक गर्न उनले माग गरे । यस्तो कुरा आफूलाई मन नपर्ने भन्दै मानिसहरू जिम्मेवार हुनुपर्ने बताए ।

र, आन्तरिक मनमुटावका बीच सिटीले मेस्सीलाई अनुबन्धित गर्न तयारी थालेको बताइएको छ ।

सिटीका वर्तमान प्रशिक्षक पेप ग्वार्डीओला र मेस्सीबीच सुमधुर सम्बन्ध भएका कारण हाल सिटी पूरा सामर्थ्यका साथ मेस्सी भित्र्याउन लागि परेको ईएसपीएनको दाबी छ ।

यस्तैमा ग्वार्डीओलाले मेस्सीविनाको बार्सिलोना रोनाल्डोविनाको रियल जस्तै हुने बताएका हुन् ।

‘उनीहरू (मेस्सी र रोनाल्डो) क्लबका लागि अपरिहार्य खेलाडी हुन्,’ ग्वार्डीओलाले भने, ‘उनीहरू महत्त्वपूर्ण छन् ।’

उनले थपे, ‘जब मेस्सीले बार्सिलोना छोड्छन् तब बार्सिलोनालाई फेरि त्यहीँ ठाउँमा आउन समय लाग्छ उनीहरूले एक सिजनमा ४० अथवा ५० गोल गर्छन् । मेस्सीले क्लब छोडेमा बार्सिलोना रोनाल्डोविनाको रियल मड्रिडजस्तै हुन्छ ।’

Loading...