युभेन्टसबाटै छैंटौं च्याम्पियन्स लिग जित्न चाहन्छन् रोनाल्डो

एजेन्सी, २३ माघ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले छैटौं च्याम्पियन्स लिग युभेन्टसबाटै जित्ने आफ्नो चाहना रहेको बताएका छन् ।

आफ्नो ३५औं जन्मदिन मनाउने क्रममा एक सञ्चारमाध्यमसँग बोल्दै रोनाल्डोले यस्तो बताएका हुन् ।

रोनाल्डोले फेब्रुअरी ५ अर्थात् आफ्नो ३५औं जन्मदिन मनाएका थिए ।

१८ वर्षअगाडिबाट व्यवसायिक फुटबलमा डेब्यू गरेका उनले इंग्ल्याण्ड, स्पेन र इटाली गरी तीनै राष्ट्रबाट आफ्नो अनुभव संगालीसकेका छन् ।

बालोन डी‘ओरका पाँच पटकका विजेता उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा ६ वर्ष, स्पेनिस क्लब रियल मड्रिडमा ९ वर्ष बिताएका थिए ।

सर्वाधिक धेरै पाँच पटकका च्याम्पियन्स लिगका विजेता रोनाल्डोले २००८ मा युनाइटेडबाट च्याम्पियन्स लिग जितेका थिए भने अन्य चार वटा उपाधि रियल मड्रिडबाट जितेका हुन् ।

२०१४, २०१६, २०१७ र २०१८ मा उनले रियलबाट च्याम्पियन्स लिगको उपाधि जितेका छन् । अब उनी छैटौं पटक च्याम्पियन्स लिगको उपाधि युभेन्टसबाटै जित्न चाहन्छन् ।

‘छैटौं च्याम्पियन्स लिग म युभेन्टसबाटै जित्न चाहन्छु,’ उनले भने, ‘मैले युभेन्टसबाटै खेलेँ भने च्याम्पियन्स लिग जित्न सम्भव छ ।’

‘हामीलाई थाहा छ कि यो प्रतियोगिता जित्न गाह्रो छ’, उनले थपे, ‘यो धेरै कुरामा निहीत हुन्छ तर मेरो विचारमा च्याम्पियन्स लिग जित्न सम्भव छ किनकी हामीसँग एउटा राम्रो टिम छ । हामी क्रमिकबद्ध रूपमा अगाडि बढ्दैछौं ।’

Loading...