चीनलाई सहानुभूति दिन कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा

बेइजिङ, २२ माघ । कोरोना भाइरसको प्रकोपले आक्रान्त चीनलाई सहानुभूति दिन कम्बोडियाका प्रधानमन्त्री हुन सेन चीन पुगेका छन् ।

उनले चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग भेटवार्ता गरेका छन् ।

चीनको भ्रमणको क्रममा हुन सेनले क्वाङलाई बेइजिङस्थीत ग्रेट हल अफ द पिपल्समा बुधबार भेटवार्ता गरेका हुन् ।

चीनमा फैलिएको कोरोना भाइरसबाट सयौँ चिनियाँको मृत्यु तथा हजारौँ सङ्क्रमित भएको बेला आत्मीयता देखाउन हुन सेन चीन आएका हुन् ।

चिनियाँ नागरिकको दुःखमा साथ दिन र सहानुभूति व्यक्त गर्न उनले चीन भ्रमण गरेको कम्बोडियाली अधिकारीहरुले बताएका छन् ।

भेटवार्ताका क्रममा उनीहरुबीचमा आपसी सहयोग, दुईपक्षीय हित, साझा चासोलगायतका विषयमा कुराकानी भएको छ ।

कम्बोडियाली प्रधानमन्त्री हुन सेनले दुःखको घडीमा चीन सरकार र जनताले सङ्क्रमण नियन्त्रणका लागि धेरै राम्रो काम गरिरहेको बताए ।

चिनियाँ प्रधानमन्त्री लिले चिनियाँ नागरिकको स्वास्थ्य नै सरकारको प्रमुख प्राथमिकतामा रहेकाले त्यहीअनुसार काम भइरहेको बताए ।

यसअघि थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले पनि बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीलाई फोन गरी सङ्क्रमणबाट चाडै मुक्ति पाउने विश्वास व्यक्त गरेका थिए ।

Loading...