विराटनगरमा ‘विराट एक्स्पो २०७६’ हुँदै

विराटनगर, २२ माघ । उद्योग संगठन मोरङको आयोजनामा ‘विराट ट्रेड एक्स्पो २०७६’ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) हुने भएको छ ।

यही २ फागुनदेखि आर्थिक ‘विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ विराट एक्पो आयोजना हुन लागेको हो ।

१० फागुनसम्म चल्ने एक्पोमा नेपालसहित भारत, बंगलादेश, चीन तथा अन्य ६ देशका तीन सय पन्ध्र स्टलहरू रहने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

एक्स्पोमा स्वदेशी तथा अन्तर्राष्ट्रिय उत्पादनहरू, कृषि, पर्यटन र वनमा आधारित उद्योग उत्पादनहरू, बाल उद्यान तथा खानाको विभिन्न परिकारहरू प्रदर्शन गरिने छ ।

एक्स्पोबाट सूचना प्रविधि तथा अटोमोबाइल्सका साथै स्वास्थ्य, शिक्षा, विज्ञान, बैंक, वित्तिय संस्थाका विविध पक्षबारे जानकारीहरू दिने र प्रत्येक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने तथा विविध सांस्कृतिक कार्यक्रमहरू संचालन गरिने दुलालले जानकारी दिए ।

एक्स्पो अवलोकन गर्नको लागि सर्वसाधारणको लागि ५० रुपैयाँ र विद्यार्थीहरूको लागि २५ रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ ।

एक्स्पोको तयारी २७ माघसम्ममा पूरा हुने आयोजकले बताएको छ ।

Loading...