पत्रपत्रिकामा देश : ‘बाँकी तीनवर्ष मेरै सरकार’

विराटनगर, २२ माघ । अबको तीन वर्ष आफूले नै सरकार चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीले दृढता व्यक्त गरेको समाचार नागरिक दैनिकले मुख्य खबर बनाएको छ ।

उनले ‘बेस्सरी काम गर्न सजिलो होस भनेर फेरी मृगौला राख्न लागेको’ भनेका छन् ।

प्रचण्डले नै आलोपालो हटाएर पूरै अवधि सरकार सञ्चालन गर्न भनेको उनले बताएका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अन्र्तगतको ५० अर्ब रुपैयाँको सम्झौता कार्यान्वयन हुनेमा उनी ढुक्क भएको खबरमा उल्लेख छ ।

यही प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निजी सञ्चारमाध्यमका सम्पादकहरुसँगको भेटमा भएको छलफललाई नै कान्तिपुर दैनिकले पनि मुख्य समाचार बनाएको छ ।

‘प्रधानमन्त्रीको फेरिएको अवतार’ शीर्षकमा सञ्चारकर्मीसँगको भेटमा फरक रुपमा प्रस्तुत भएको समाचार छापिएको छ ।

कोरोना भाइरस नेपाल भित्रिन नदिन सरकारले प्रभावकारी काम नगरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आरोप लगाएको छ ।

यस्तै तयारी पछिमात्रै नेपाली फर्काउन चिनियाँ राजदूत होउ याङ्छीले बताएको खबरपनि नागरिक दैनिकमा छ । राजदूत होउले चीनमा नेपाली सुरक्षित रहेको समेत बताएकी छिन् ।

कान्तिपुर दैनिकमा न्यारोबडी खरिदबारे छानबिन गर्न संसदीय समितिको निर्देशन शीर्षकमा खबर छ ।

एयरबसले नेपाली एजेन्ट र खरिदमा संलग्न अधिकारीहरुलाई ४ करोड २८ लाख रुपैयाँ घुस दिएको जनाएको छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले न्यारोबडी विमान खरिदमा कानूनी प्रकृया नमिलेको भन्दै छानबिन गर्न मंगलबार निर्देशन दिएको हो ।

मुल्य बढेर कुखुराको मासु किलोको ४ सय २० र अण्डा प्रतिगोटा १५ पुगेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

व्यवसायीले ३० लाख चल्ला र तीन करोड अण्डा नष्ट गरेपछि मूल्य अहिलेसम्मकै उच्च शीर्षकमा छापिएका खबरमा नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले क्रमश बजार सुधारिदै गएको बताएको उल्लेख छ ।

यस्तै पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने मूल्य बढाएकोमा सरकारले चासो नदिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

Loading...