प्रदेश १ मा १ हजार ४० जनालाई तालिमसहित रोजगारी

विराटनगर, २१ माघ । उद्योग वाणिज्य महासंघको समन्वयमा मोरङ सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारीको लागि सम्झौता भएको छ ।

मंगलबार विराटनगरमा एक कार्यक्रमकाबीच तालिम दिइ दक्ष बनाएर रोजगार उपलब्ध गराउन सम्झौतामा हस्ताक्षर भएको छ ।

उद्योगलाई चाहिने दक्ष जशक्ति उत्पादन गरी रोजगारी दिने सम्झौतामा ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजना प्रबन्धक सरोजप्रसाद गुरागाईं र उद्योग वाणिज्य महासंघका तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्ताक्षर गरे ।

कार्यस्थलमै तालिम दिई दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई विभिन्न ६ उद्योगले रोजगारी दिने महासंघका कार्यकारी निर्देशक भण्डारीले बताए ।

उद्योगको माग अनुसारको दक्ष जनशक्ति अभाव भएपछि सम्वृद्धि र हेल्भेटासको प्राविधिक सहयोगमा रोजगारीको सुनिश्चितासहित तालिम आयोजना गरिएको उनले जानकारी दिए ।

सहभागीहरुलाई १ महिना कक्षागत र ५ महिना कार्यस्थलमै गरी ६ महिना तालिम दिइ दक्ष बनाएर उद्योगमै रोजारी दिइने सम्झौतामा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले माग अनुसारको दक्ष जनशक्ति नहुँदा नेपालीहरु रोजगारीको लागि विदेश जाने र विदेशीहरु रोजगारीको लागि नेपाल आउने स्थिति रहेको बताए ।

उद्योगमै तालिम दिँदा उद्योगलाई चाहिएको दक्ष कामदार उपलब्ध हुनुका साथै परिवारसँगै बसेर स्वदेशमै रोजगारी पाउने वातावरण हुने उनको भनाइ छ ।

उनले प्रदेश १ का प्लाइ, छड र सिमेण्ट उद्योगमा दक्ष कामदारको अभाव रहेको बताए ।

यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष लिलम बस्नेतले निजी क्षेत्रले दक्ष कामदार पाउन नसकेको बताए ।

यस्ता तालिमले दक्ष कामदार उत्पादन भइ रोजगारीको अवसर पाउने बताए ।

ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजनाका प्रदेश १ संयोजक राकेशकुमार झाले उद्यमशिलता वृद्धि तथा रोजगारीको सृजना गर्न आयोजनाले उद्योग वाणिज्य महासंंघ र हेल्भेटाससँग सहकार्य गरिरहेको बताए ।

विराटनगरका रघुपति जुटमिल, स्वस्तिक जुट मिल, दुहवीको अरिहन्त फाइवर्स, इटहरीका पल्स फेसन सलुसन, रिलायन्स स्पिनिङ र सगरमाथा गारमेण्टमा १ हजार ४० जनालाई तालिम सहित रोजगारी दिइने भएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष लिलम बस्नेत र ग्रामिण उद्यम तथा विप्रेशण अयोजना (सम्वृद्धि)का कार्यक्रम प्रबन्धक सरोजप्रसाद गुरागाईंले सम्झौता पत्र आदानप्रदान गरेका छन् ।

Loading...