अजिता हत्या प्रकरण : एक युवतीसहित पाँच जना पक्राउ

हेटौंडा, २१ माघ । अजिता भुजेलको हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनालाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा–४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, सोही ठाउँका २४ वर्षीय घनटाउके भनिने सुशील थापा रहेका छन् ।

हत्या गरिएकी भुजेलको मोबाइल प्रयोग गरेकामा महिलासहित अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार अधिकारकर्मीसमेत रहेकी भुजेललाई हेटौँडा–११ स्थित थानाभर्‍याङमा ना६ख नंको ट्रकमा राखी हापु भन्ने सिमोन परियार, सुशील थापा र अन्य दुईजनासमेत मिलेर सामूहिक रुपमा यौन सम्पर्क गरेको र त्यसबापत भुजेलले रु सात हजार मागेपछि विवाद भएको र गाडीमा प्रयोग हुने बिजुलीको तारले घाँटीमा कसेर मारेको त्यसपछि त्यही गाडीमा राखेर छ किलोमिटर पूर्व क्याम्पाडाँडास्थित कान्तिराजपथमा फालेको उनीहरुले बताएका छन् ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए ।

यही माघ ४ गते हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडामा एउटा शव फेला पर्‍यो ।

मृतकको शरीरमा नीलडाम देखिन्थ्यो भने घाँटीमा बिजुलीको तार बेरिएको र शरीर पूर्णरुपमा नग्न अवस्थामा रहेको थियो ।

शव भेटिएको केहीबेरमै लैंङ्गिक, अल्प सङ्ख्यकहरुको क्षेत्रमा क्रियाशील अधिकारकर्मी अजिता भुजेल रहेको थाहा भयो । भुजेल मकवानपुरबाट तेस्रोलिङ्गीका रुपमा नागरिकता लिने पहलो व्यक्ति पनि थिइन् ।

घटनापछि प्रहरीले धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो भने केहीलाई निगरानीमा राखेरसमेत अनुसन्धान गरेको थियो ।

प्रहरीले घटना घटेको दिन तथा त्यसअघिका टेलिफोन विवरण, सिसी टिभीहरुमा रेकर्ड भएका भिडियो क्लिपहरु आदिको अध्ययन गरेर अनुसन्धानलाई सफल बनाउने प्रयास गरेको थियो । रासस

Loading...