यसकारण मृत्युदण्डको फैसलापछि न्यायाधीशहरूले भाँच्छन् कलमको निभ

एजेन्सी, २० माघ । ब्रिटिश उपनिवेश हुँदादेखि नै भारतीय न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि उनीहरूले प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन चलिआएको छ ।

तर किन त्यस्तो काम गरिन्छ के हामीले कहिल्यै सोचेका छौँ ? न्यायाधीशले त्यस्तो गर्नुमा एक भन्दा बढी कारणहरू छन् ।

कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृत्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरुको फैसला गर्न नहुने मान्यता न्यायाधीशहरू राख्छन् ।

कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ ।

मृत्युदण्डको फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहिआएको छ ।

न्यायाधीशहरूसँग मृत्युदण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको विभिन्न भारतीय मिडीयाहरूले जनाएको छ ।

मृत्युदण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र छ ।

Loading...